नेतृत्व शैली बदल्न मेलाई आग्रह

  • 11 जुन 2017
माइकल फालन

ब्रिटेनमा सरकारका वरिष्ठ मन्त्रीहरुले प्रधानमन्त्री टरिजा मेलाई आफ्नो नेतृत्व शैली बदल्न भनेका छन्।

बिहीबारको आमचुनावमा मेको दलले बहुमत गुमाएपछि थप सामूहिक निर्णय गर्ने जस्ता शैली अपनाउन उनलाई सुझाव दिइएको हो।

रक्षा मन्त्री माइकल फालनले बृहत छलफल गर्ने जस्ता शैली अपनाउन प्रधानमन्त्री मे लाई आग्रह गरेका छन्।

उनले सामूहिक निर्णय प्रक्रियामा जोड दिए।

'बहिर्गमन'

प्रधानमन्त्री मे पदमा रहने वा नरहने भन्नेबारे विभिन्न अड्कलबाजीहरु तीव्र भएका छन्।

पूर्व ब्रिटिश अर्थमन्त्री जोर्ज ओजबोर्नले प्रधानमन्त्री टरिजा मे, टार्न नसकिने क्षतिको संघारमा पुगेको संकेत गर्दै उनलाई मृत्युतर्फ अघि बढिरहेको महिलाका रुपमा व्याख्या गरेका छन्।

हाल लण्डनस्थित एक दैनिकको सम्पादकको रुपमा काम गरिरहेका उनले बिहीबारको चुनावी परिणामपछि प्रधानमन्त्री मे कति समयसम्म मृत्युको सजाय कुर्ने कक्षमा बस्छिन् भन्ने प्रश्नमात्रै बाँकी रहेको टिप्पणी गरे।

नेतृत्व शैली बदल्न सुझाव दिएका रक्षामन्त्री फालन भने प्रधानमन्त्री मे को पक्षमै उभिएका छन्।

मेले आफ्नो पार्टीलाई पछिल्लो ३४ वर्षकै सबैभन्दा धेरै मत दिलाएको उनले बताए।

Image caption पूर्व अर्थमन्त्री जोर्ज ओजबोर्नले प्रधानमन्त्री मेको बहिर्गमनको संकेत गरे

आलोचना

विपक्षी नेता जेरेमी कोर्बिनले एक वर्षभित्र दोस्रो आमचुनाव हुने अनुमान गरे।

उनले देशलाई डेमोक्र्याटिक युनियनिस्ट पार्टी डीयुपीको समर्थनमा बनेको अल्पमतको सरकारभन्दा उनकै शब्दमा थप जिम्मेवार सरकार चाहिएको बताए।

फालनले भने डीयुपीसँगको सहमतिको बचाउ गरे।

उनले उक्त सहमति अर्थतन्त्र र सुरक्षा जस्ता ठूला विषयमात्रै लागू हुने बताए।

सहमति हुनुको अर्थ सबै मामिलामा एउटै धारणा हुनेछ भन्ने नरहेको उनले जनाए।

१० जना सांसद रहेको डीयुपीले थुप्रै सामाजिक मामिलामा राखेको धारणा विवादित छन्। उसले समलिंगी विवाह र गर्भपतनको विरोध गर्छ।