राजपा नेपाल आन्दोलनमा

  • 12 जुन 2017
तराई

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले स्थानीय तहको चुनाव तेस्रो चरणमा गर्न असम्भव रहेको बताइरहँदा चुनावको विरोधमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मसाल जुलुस आयोजना गरेको छ।

संविधान संशोधन नहुन्जेलसम्म चुनावमा नजाने अडान एउटा प्रमुख तराई केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालले राखिरहँदा यादवले अब चुनाव सार्ने कुरा निर्वाचन आयोगलाई अस्वीकार्य हुने बताएका हुन्।

सोमबार राजपा नेपालले गरेको प्रदर्शनका क्रममा ‍कतिपय स्थानमा झडप भएका विवरणहरु आएका छन्।

विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले दलीय सहमति होस् भनेर पटक पटक मिति सारेको उल्लेख गर्दै अब पनि निर्वाचन सार्ने कुरा आयोगका लागि स्वीकार्य नहुने बताए।

अकाट्य

आयुक्त यादवले भने ,"अब तेस्रो चरणको कुरा नगरौं, निर्वाचन आयोगको आफ्नो पनि एउटा समयतालिका हुन्छ, त्यो पनि समय गइसक्यो। अब असार १४ को मिति अकाट्य छ, यसमा कुनै परिवर्तन हुदैन।"

उनले वर्षाको समय भएकाले मतपत्र लगायतको निर्वाचन सामग्री बिग्रने सम्भावना रहेको उल्लेख गर्दे अब त्यसो गर्न नसकिने बताए।

निर्वाचन आयोगले उम्मेदवारी चयनका लागि दलको आधिकारिक हस्ताक्षर बुझाउन छुटेका दलहरुका लागि भन्दै सोमबारसम्मको समय दिएको थियो।

उक्त समयमा पनि राजपा नेपालले आफ्नो हस्ताक्षर नबुझाएको निर्वाचन आयोगले जनाएको छ।

चुनावको विरोधमा तराईको जिल्ला सदरमुकामहरुमा राजपा नेपालका नेता कार्यकर्ताहरुले सोमबार साँझ मसाल जुलुस गरेका थिए।

आन्दोलन

राजपाका महासचिव जितेन्द्र सोनलले चुनावको तिथि सारेर माग सम्बोधन नगरेसम्म प्रतिरोधात्मक आन्दोलन जारी रहने बताए।

सुरक्षा कायम गर्न भन्दै बाक्लो गरी सुरक्षाकर्मी खटाइएपनि कतिपय स्थानमा झडप भएका छन्।

वीरगञ्जमा मतदान अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा अवरोध गर्दा समान्य झडप भएको थियो।

राजपा नेपालका कार्यकर्ताहरुले बारामा तीन मतदान अधिकृतलाई कुटपिट गरेको र निर्वाचनका काममा प्रयोग भएका दुईवटा गाडीमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।