प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस

  • 13 जुन 2017
सर्वोच्च तस्वीर कपीराइट SUPREME COURT

न्याय परिषद्ले नयाँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाउने निर्णय गरेको छ।

मंगलबार बसेको परिषद्को बैठकले योग्यता पुगेका सर्वोच्चका न्यायाधीशमध्ये वरिष्ठताको क्रमको आधारमा गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको हो।

यसअघि न्यायपरिषद्को बैठक बस्न नसक्दा प्रधानन्यायाधीशमा नियुक्तिका लागि नाम सिफारिस गर्न ढिलाइ भएको थियो।

बैठक बस्न नसकेपछि निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश हुनुअघि ६ जनाको नाम पठाउने एकल निर्णय गरेकी थिइन्।

तर न्याय परिषद् सचिवालयले पठाएको सूचीमात्रै वैधानिक हुने टिप्पणी भएका थिए।

निर्णय

परिषद्को मंगलबार बसेको बैठकले कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवादमा बोल्दै उनको जन्ममिति विक्रम सम्वत २०१० बैशाख १६ गते कायम रहने निर्णय गरेको छ।

यसको अर्थ अब यदि पराजुलीलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीश चयन गर्यो भने उनले २०७५ बैशाख १५ सम्म पदमा रहन पाउनेछन्।

परिषदद्वारा जारी वक्तव्य अनुसार 'नागरिकताको प्रमाणपत्रको आधारमा कायम हुने जन्ममिति र पूरा जन्ममिति खुलेको शैक्षिक योग्यता र वैयक्तिक विवरण( सिटरोल) को जन्ममितिबीचमा एक वर्षभन्दा कमको अन्तर देखिएकाले न्याय परिषद् ऐन २०७३ को दफा ३१ को उपदफा ६' तथा सर्वोच्च अदालतलको हालैको आदेश अनुसार पराजुलीको जन्ममिति २०१० वैशाख १६ कायम गरी संवैधानिक परिषदमा पठाउने निर्णय भएको छ।

उच्चअदालतका मुख्य न्यायाधीश सुरेन्द्रवीर सिंह बस्न्यातको मामिलामा नागरिकताको जन्ममिति कायम गर्ने तात्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको निर्णय सर्वोच्चले हालै बदर गर्दै शैक्षिक प्रमाणपत्रमा खुलेको पूरा जन्ममिति कायम हुने फैसला गरेको थियो।

त्यही आधारमा पराजुलीको हकमा पनि शैक्षिक प्रमाणपत्र अनुसारको जन्ममिति कायम गरिएको परिषद्ले बताएको छ।

नागरिकता प्रमाणपत्रमा पूरा जन्ममिति उल्लेख नभइ वर्षमात्रै रहेकाले विवाद निम्तिएको थियो।