रुससँग मिलेमतो गरेको आरोप अस्वीकार

  • 14 जुन 2017
समिति तस्वीर कपीराइट Reuters

अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले गत वर्षको राष्ट्रपतीय निर्वाचनलाई डोनल्ड ट्रम्पको पक्षमा पार्न रुससँग मिलेमतो गरिएको आरोपको सशक्त रुपमा खण्डन गरेका छन्।

गत फेब्रुअरीमा महान्यायाधिवक्ता नियुक्त भएपछि संसद्को गुप्तचर समितिको सुनुवाइका क्रममा सेसन्सले आफूबारे आलोचनायोग्य झुट बोलिएको बताए।

उनले ती आलोचनाहरु "गोप्य रुपमा कसैको इशारामा" गरिएको दावी गरे।

महान्यायाधिवक्ता सेसन्सले ट्रम्पको चुनावी अभियानबारे आफूले रुसी अधिकारीहरुसँग कुनै भेटघाट नगरेको र ट्रम्पका चुनावी अभियान अधिकारीहरुले पनि त्यस्तो कुनै भेटघाट गरेकोबारे आफूलाई थाहा नभएको उल्लेख गरे।

बर्खास्त

उपमहान्यायाधिवक्ताको सल्लाह अनुसार संघीय जाँच निकाय एफबीआइका निर्देशक जेम्स कोमीलाई बर्खास्त गर्न राष्ट्रपतिलाई आफूले सुझाव दिएको सेसन्सले बताए।

यद्यपि एफबीआइलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्नेमा राष्ट्रपति ट्रम्प र आफू सहमत भएको उनले जनाए।

तस्वीर कपीराइट Reuters

राष्ट्रपतिसँग गरेको गोप्य कुराकानीबारे गुप्तचर समितिका सदस्यले उठाएका प्रश्नका जवाफ दिन सेसन्सले पटक-पटक अस्वीकार गरे।

उनले "अपमानजक र झुटा आरोपमाझ" आफ्नो आत्मसम्माको रक्षा गर्ने वाचा गरे।

अनुसन्धान

जेम्स कोमीले चुनावी अभियानमा रुसले गरेको भनिएको राजनीतिक हस्तक्षेपबारेको एफबीआइको अनुसन्धानलाई प्रभावित पार्न आफूलाई पदबाट हटाइएको हुन सक्ने बताएपछि सेसन्सको त्यस्तो भनाई आएको हो।

ट्रम्पलाई राष्ट्रपतिमा जिताउनका लागि रुसले हस्तक्षेप गरेको अमेरिकी गुप्तचर निकायहरुले विश्वास गर्दै आएका छन्।

संसद्का विभिन्न समितिहरुले जस्तै गुप्तचर समितिले पनि राष्ट्रपतीय चुनावमा क्रेम्लिनले हस्तक्षेप गरेको आरोपबारे अनुसन्धान गरिरहेको छ।

कानून कार्यान्वयन गराउने अमेरिकी उच्च पदाअधिकारी सेसन्सले गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेकोबारे आफूले कुनै पनि जानकारी नपाएको संसदीय समितिलाई बताए।