लण्डन आगलागीमा ६ जनाको मृत्यु भएको पुष्टि

  • 14 जुन 2017
लण्डन तस्वीर कपीराइट Reuters

लण्डनको पश्चिमी क्षेत्रस्थित एउटा बहुतल्ले आवासिय भवनमा आगो लाग्दा छ जनाको ज्यान गएको पुष्टि भएपनि मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ।

सत्तरीजना भन्दा बढीको नजीकका अस्पतालहरुमा उपचार भैरहेको छ।

प्रधानमन्त्री टरिजा मेले उक्त घटनमा मानिसहरुको ज्यान गएकोमा आफूलाई ठूलो दु:ख लागेको बताएकी छिन्।

स्थानीय समय अनुसार मंगलबार बेलुकादेखि उक्त २४ तल्ले आवासीय भवनमा आगलागी शुरु भएको थियो।

आगलागी

छ जनाको ज्यान गएको पुष्टि भएपनि प्रहरीले त्यो संख्या बढ्न सक्ने बताएको छ।

प्रत्यक्षदर्शीहरुले, ग्रेनफेल टावर नामक उक्त भवनमा फसेकाहरुले मद्दतका लागि चिच्याएर आग्रह गरिरहेका बताएका छन्।

अग्नि नियन्त्रकहरु रातिको झण्डै एक बजेतिर त्यहाँ पुगेका थिए र तिनीहरुले हालसम्म पनि आगो निभाउने काम गरिरहेका बताइएको छ।

तस्वीर कपीराइट PA

प्रहरीले उक्त भवनमा अझै पनि खोज्न नसकीएका मानिसहरु हुनसक्ने बताएको छ।

आगलागी शुरु भएको समयमा उक्त भवनमा केहि सय मानिसहरु रहेका ठानिएको छ जसमध्ये धेरै जसो मस्त निद्रामा थिए।

जटिल

मेट्रोपोलिटन प्रहरीका कमाण्डरले उद्धार कार्य जटिल र लामो समयसम्मचल्न सक्ने बताएका छन्।

तस्वीर कपीराइट Getty Images

उनले हराइरहेका हुनसक्ने मानिसहरुका बारे जानकारीहरु भने दिन चाहेनन्।

उनले घटनाका पीडितहरुको पहिचान गर्न केहि समय लाग्न सक्ने बताउंदै आगलागीको कारण बारे अनुमान गर्न अहिले छिटो हुने पनि बताए।

आगलागीबाट चोट लागेका सत्तरी जना भन्दाबढीको अस्पतालहरुमा उपचार भएको छ।

ती मध्ये कम्तीमा २० जनाको अवस्था गम्भीर रहेको बुझीएको छ।

फायर कमिश्नर ड्यानी कटनले, घटनास्थलमा आगामी २४ घण्टासम्म नै अग्नि नियन्त्रकहरु कार्यरत रहने अनुमान गरिएको बताउँदै आगलागीको कारणबारे आफूले कुनै अडकलबाजी नगर्ने बताइन्।

प्रधानमन्त्री टरीजा मेले उक्त घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको डाउनींग स्ट्रिटले जनाएको छ।