चिनियाँ खर्वपति प्रहरी नियन्त्रणमा

  • 14 जुन 2017
चीन तस्वीर कपीराइट ANBANG INSURANCE GROUP

चीनको सबैभन्दा धनी र शक्तिशाली कम्पनी मध्यको एउटा मानिने विमा कम्पनी आनबाङका प्रमुखलाई अधिकारीहरुले नियन्त्रणमा लिएको विवरणहरु आएका छन्।

एउटा श्रोतले बीबीसीलाई वू सियाओ ख्वेलाई प्रहरीले कारमा हालेर लगेको जानकारी दिएको छ।

तर आनबाङ विमा कम्पनीले वू सियाओ ख्वेले व्यक्तिगत कारणहरुले आफ्नो पदीय जिम्मेवारी सम्हाल्न नसकिरहेको भन्दै उनले पद छाडेको जनाएको छ।

चिनियाँ अधिकारीहरुले उनको गिरफ्तारीको पुष्टि गरेमा उनी वित्तिय क्षेत्रमा राज्यको नियन्त्रण बढाउन र भ्रष्टाचार रोक्न सरकारले चालिरहेको कदम अन्तर्गत निशानामा पर्ने सबैभन्दा उच्च पदस्थ व्यक्ति हुनेछन्।

नियन्त्रण

हालैका वर्षहरुमा आनबाङले देशबाहिर पनि महत्वपूर्ण सम्पति खरिद गरेको छ जसमा दक्षिण कोरियाको दोस्रो ठूलो ब्याङक र न्यूयोर्कको वाल्डोर्फ एस्टोरिया होटल पनि पर्छ।

यसअघि चीनको एउटा व्यापार सम्बन्धी खबरपत्रिकाले वूलाई अधिकारीहरुले पक्राउ गरेको विवरण अघिल्लो हप्ता नै छापेको थियो, तर त्यसलाई पछि हटाएको थियो।

तस्वीर कपीराइट Getty Images

एक जना सरकारी अधिकारीले बीबीसीलाई वूलाई आनबाङको मुख्यालयबाट ६ दिनअघि दुईवटा कारमा सवार प्रहरी अधिकारीले नियन्त्रणमा लिएर गएको जानकारी दिए।

अहिले उनलाई कहाँ राखिएको छ भन्ने खुलाइएको छैन।

उनको आनबाङ कम्पनीसँग झण्डै २ खर्ब ४२ अर्ब डलर बराबरको सम्पति रहेको बताइन्छ।

शक्तिशाली

आनबाङले गिरफ्तारीको खबरबारे कुनै प्रतिक्रिया दिएको छैन् तर उसले यसअघि फाइनान्सियल टाइम्स नामक अखबारमा वूलाई विदेश यात्रामा रोक लगाइएको भन्ने खबरको खण्डन गरेको थियो।

आनवाङले हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका ज्वाईँ तथा ह्वाइट हाउसका सल्लाहाकार रहेका ज्यारेड कुश्नरको आंशिक स्वामित्वमा रहेको घर जग्गा कारोबार सम्बन्धी कम्पनी खरिद गर्न वार्ताहरु गरेको थियो।

दुबै पक्षले म्यानहटनमा रहेको कुश्नरको एउटा भवन निर्माणका लागि समझदारी जुटाउन छलफल गरिरहेको बताएको थियो।

पछि स्वार्थ बाझिएको हुनसक्ने बताइए पनि कारण नखुलाई आपसी सहमतिमा उक्त छलफल रोकिएको थियो।

चीनमा राजनितिक तहसँग सबैभन्दा नजिकको सम्बन्ध रहेको ठानिने वू सियाओ ख्वेले देशका पूर्व नेता दङ सियाओ पिङकी नातिनीसँग विवाह गरेका थिए।