चुनाव सार्न कांग्रेस नेताको दबाब

  • 14 जुन 2017
बैठक तस्वीर कपीराइट Onsari Gharti facebook

प्रदेश नम्बर दुईका नेपाली कांग्रेसका नेताहरुले पार्टी नेतृत्वमाथि उक्त प्रदेशको चुनाव सार्न दबाब दिएका छन्।

उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सांसद र नेताहरुले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त रुपमा भेटेर आफ्नो प्रदेशको राजनीतिक अवस्था चुनाव अनुकूल नभएको धारणा राखेका थिए।

तोडफोड र आगजनी जस्ता घटना बढ्दै गएको भन्दै आफूहरुले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका 'सकिने जति माग पुरा गर्न' सुझाव दिएको सहभागी नेताहरुको भनाई छ।

राजपाले आफ्ना माग पुरा गरे मात्रै निर्वाचनमा सहभागी हुने अडान राखेर निर्वाचन गतिविधिलाई अवरोध पुर्याउने गतिविधि गरिरहेका बेला सत्तारुढ दलभित्रै त्यस्तो आवाज उठेको हो।

कांग्रेस केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले भनिन्, "राजपालाई छोडेर जाँदा राम्रो हुँदैन, उनीहरुको माग मात्र हैन, हाम्रो पनि हो, सबै मधेशको हो। जति माग पुरा गर्न सक्नुहुन्छ, गर्नुहोस। उनीहरुलाई मनाएर मात्र चुनावमा जान उपयुक्त हुन्छ भन्ने आग्रह गर्यौं।"

अडान

यस्तो पृष्ठभूमिका माझ बुधबार निष्कर्षहीन हुन पुगेको प्रमुख प्रतिपक्षी नेकपा एमाले, राजपा र सत्तापक्षको संयुक्त बैठक पुन: बिहीबार बस्ने भनिएको छ।

तर संयुक्त बैठकमा चुनाव सार्नेबारे प्रधानमन्त्री देउवाले कुनै प्रस्ताव नराखेको नेताहरुले जनाएका छन्।

बैठकमा सहभागी एमाले बरिष्ठ नेता झलनाथ खनालले भने, "हामीले चुनावमा जान आग्रह गर्यौं। राजपा नेताले संविधान संशोधन लगायतका अन्य माग पुरा नभएसम्म चुनावमा नजाने अडान छाड्नु भएन।"

तीन पक्षको बैठक सकिए लगतै सतारुढ नेपाली कांगेस र माओवादी केन्द्रका नेताहरुले राजपाका नेताहरुसँग छुट्टै छलफल गरेका थिए।

प्रमुख प्रतिपक्षी एमाले उम्मेद्वारी दर्ता गर्ने मिति मात्र र कांग्रेसले दुई नम्बर प्रदेशको चुनाव पनि सार्न सकिने संकेत दिएको तर आफूहरुले दुई र पाँच नम्बर प्रदेशको चुनाव नै सार्नु पर्ने अडान राखेको राजपाका एकजना नेताले बताए।