‘असारबाट स्थानीय तहमा कर्मचारी’

  • 15 जुन 2017
तिला गाउँपालिका
Image caption संघीय सरकारमार्फत रहेका कर्मचारीलाई समेत नगरपालिका, तथा गाउँपालिकामा जान भनिएको एक अधिकारीले बताए

पहिलो चरणको स्थानीय चुनाव सम्पन्न भएको एक महिनापछि, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चुनाव भइसकेका सबै स्थानीय तहमा कर्मचारी खटाउन आवश्यक पहल थालिसकेको अधिकारीहरुले बताएका छन्।

तत्कालै सातवटा मन्त्रालयका कर्मचारीहरु स्थानीय विकास मन्त्रालयमा पुग्ने र अन्य मन्त्रालयका कर्मचारीहरु क्रमश: खटाइंदै जाने बताइएको छ।

अहिलेसम्म स्वास्थ्य, शिक्षा, संघीय मामिला तथा स्थानीय विकास, वन, कृषि, पशुपंक्षी र महिला तथा बालबालिका मन्त्रालय र त्यस अन्तर्गतका कर्मचारीलाई स्थानीय तहमा खटाउने प्रकृया अघि बढिसकेको स्थानीय विकास मन्त्रालयले जनाएको छ।

अन्य मन्त्रालयका कर्मचारी खटाउने काम पनि तीव्र रुपमा अघि बढिरहेको बताइएको छ।

कर्मचारीहरु आगामी हप्ताभित्रै निर्वाचन भएका सबै स्थानीय तहमा पुगिसक्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले बताए।

'बन्दोबस्त'

उनले भने, "असार १ गतेबाट सात दिनमा अर्थात असार ८ देखि १० गतेसम्ममा प्रत्येक स्थानीय तहमा अहिले केन्द्रीय तहमा रहेका कर्मचारीहरु मध्ये प्रत्येकमा करिब १२ देखि १५ जनाको हाराहारीमा कर्मचारी पुगिसक्ने गरी हामीले आवश्यक बन्दोबस्त गरिसकेका छौं।"

स्थानीय तहमा कर्मचारी खटनपटनबारेको कानुन संसदमा विचाराधीन अवस्थामा रहेकोले हाल कर्मचारीलाई काजमा खटाइने बताइएको छ।

सचिव थपलियाका अनुसार उक्त कानून पारित भएपछि मात्र कर्मचारीको स्थायी दरबन्दी हुनेछ।

कर्मचारीहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण पनि गर्न बाँकी रहेकोले हाल स्थानीय तहलाई चाहिने कर्मचारीको संख्या यकिन गर्न सकिएको छैन।

आग्रह

स्थानीय विकास मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख केदारनाथ शर्माका अनुसार संघीय सरकार मातहत रहेका कर्मचारीलाई समेत नगरपालिका, तथा गाउँपालिकामा जान भनिएको छ।

उनले भने, "कुन स्थानीय तहमा कति कर्मचारी पठाउने भन्ने यकिन आँकडा आइसकेको छैन। संगठन तथा व्यवस्थापन सर्वेक्षणपछि मात्र त्यो यकिन हुनेछ।"

समायोजन गरिंदा सम्बन्धित मन्त्रालयका स्थानीय तहमा रहेका भौतिक संरचना, भवन, सवारी साधन र कर्मचारीहरु स्थानीय तहमा हस्तान्तरण हुने बताइएको छ।

सबै दरबन्दी स्थायी रुपमा समायोजन हुन भने कम्तिमा डेढ वर्ष लाग्न सक्ने अनुमान गरिएको छ।