आगलागीको छानबिन गर्न निर्देशन

  • 15 जुन 2017
टरिजा तस्वीर कपीराइट Press Eye
Image caption प्रधानमन्त्री टरिजा मे आगलागी भएको घटनास्थल पुगेकी थिइन्

पश्चिम लण्डनस्थित एक भवनमा भएको आगलागीबारे प्रधानमन्त्री टरिजा मे ले बृहत् सार्वजनिक छानबिन गर्न आदेश दिएकी छन्।

आगलागीलाइ भयानक दुखान्त भन्दै प्रधानमन्त्री मे ले घटनाको उचित रुपमा अनुसन्धान हुनुपर्ने बताइन्।

प्रधानमन्त्री मेले दुर्घटनास्थलको संक्षिप्त भ्रमण गर्दै बृहत् अनुसन्धान गर्न आदेश दिएकी हुन्।

आगलागीमा परेर अहिलेसम्म सत्र जनाको मृत्यु भएको पुष्टि भएको छ।

गम्भीर अवस्था

तर अधिकारीहरुले मृतकहरुको संख्या बढ्न सक्ने बताएका छन।

अस्पतालमा रहेका थप १७ जना मानिसहरुको अवस्था गम्भीर रहेको बताइएको छ।

विपक्षी नेता जेरेमी कोर्बिनले पनि उक्त क्षेत्रको भ्रमण गरेका छन्।

कोर्बिनले सत्य बाहिर आउनुपर्ने बताए।

उनका संसदीय सहकर्मी डेभीड ल्यामीले आगलागी संस्थागत मानव हत्याको तहको भएको र दोषीहरुलाई गिरफ्तार गरिनुपर्ने बताए।

लण्डनका अग्नि आयुक्त ड्यानी कटनले आधुनिक ब्रिटेनको ध्वंसात्मक आगलागीमा ध्वस्त टावर ब्लकमा मृतकहरु खोज्न हप्तौं लाग्नसक्ने बताएकी छन्।

तस्वीर कपीराइट PA
Image caption आगो असाध्यै तीब्र गतिमा फैलिएको थियो

अग्नि नियन्त्रकहरु सुँघ्ने कुकुरहरुसहित घरभित्र पस्नु अघि भवनलाई बलियो बनाउनुपर्ने उनले बताइन्।

खबरको पर्खाइ

मानिसहरु व्यग्रतापूर्वक हराइरहेका परिवार र मित्रहरुको खबर कुरिरहेका छन्।

त्यसअघि बेलायतकी महारानीले प्रभावित परिवारका लागि आफुले प्रार्थना गरेको बताइन्।

बुधबार बिहान आगो लागेका बेला सैयौं मानिसहरु उक्त भवनमा थिए र उनीहरुमध्ये धेरैजसो सुतिरहेका थिए।

२४ तले भवनको आगो नियन्त्रण गर्ने प्रयत्न गरेका अग्नि नियन्त्रकहरुले ६५ जनाको उद्धार गरेका थिए, तर कैयौ त आगोको लप्का र धुवाँको मुश्लोका कारण भित्रै फँसेका थिए।

आगो नियन्त्रण गर्न २४ घण्टा भन्दा बढी लागेको थियो। आगलागीको कारण पत्ता लागेको छैन।