उत्तर कोरियाली बन्दीगृह कति कठोर?

  • 15 जुन 2017
उत्तर कोरिया तस्वीर कपीराइट Reuters
Image caption अमेरिकी विद्यार्थी ओटो वार्मबिएर हालै रिहा भएका हुन्।

उत्तर कोरियाले आफ्ना कैदीहरुलाई कठोर ढंगले व्यवहार गर्छ भन्नेमा दुईमत छैन्।

अझ बाहिरियाहरुलाई गिरफ्तार गर्दा उनीहरुलाई प्रायजसो कठोर श्रम शिविरमा राख्ने गरिन्छ र त्यसक्रममा एकदमै एक्ल्याएर राख्ने र विवश बनाएर राख्ने गरेको बुझिन्छ।

बीबीसीले थाहा पाएका एकजना पूर्व बन्दीले कारागरमा गरिएको व्यवहारले आफू मानसिक रुपमा कमजोर बनेको बताएका छन्।

धेरै वर्ष बितिसक्दा उनी अझै पनि उक्त घटनाबारे कुरा गर्दा आघात बेहोरिरहेको अनुभव गर्छन् तर अरु कैयौँले उनीहरुको अनुभव सविस्तार बताएका पनि छन्।

अनुभव

सन् २०१२ डिसेम्बरमा उत्तर कोरियाले एकजना धर्म प्रचारक केनेथ बेले आफ्नो देशविरुद्ध शत्रुतापूर्ण व्यवहार गरेको आरोप लगायो।

धेरै पटक उत्तर कोरियाको भ्रमण गरेका उनलाई त्यसबेला रोकिएको थियो र उनीसँग ईसाई धर्मको प्रचारसँग सम्बन्धित सामाग्री हार्ड ड्राईभसहितका सामाग्री फेला परेको थियो।

उक्त 'अपराध'का लागि उनलाई १५ वर्षसम्म कठोर श्रमसहित जेलमा राख्ने निर्णय गरिएको थियो तर उनको स्वास्थ्य अवस्था ज्यादै बिग्रिएपछि रिहा गरिएको थियो।

आफ्नो रिहाईपछि बेले "नट फोर्गटन: द ट्रु स्टोरी अफ माई इम्प्रिजनमेन्ट इन नर्थ कोरिया" नामक संस्मरण लेखेका छन् जसमा उनले पहिलो चार हप्ता बिहान ८ बजेदेखि रातिको १० वा ११ बजेसम्म निरन्तर सोधपुछ गरिएको उल्लेख गरेका छन्।

तस्वीर कपीराइट Reuters
Image caption केनेथ बेले हप्ताको ६ दिन ढुंगा बोक्ने र बेल्चाले कोइला खन्याउने जस्ता कठोर कामहरु गर्नुपर्थ्यो।

दवावका माझ आफूलाई बयान लिने व्यक्तिहरुले भने अनुसार कुराहरु स्वीकार गर्दै सयौं पाना लेखेको उनले बताएका छन्।

बेले उनले हप्ताको ६ दिन खेतमा काम गर्ने गरेको र त्यसक्रममा गह्रुङ्गो ढुंगा बोक्ने र बेल्चाले कोइला खन्याउने काम गरेको उल्लेख गरेका छन्।

उनले दैनिक रुपमा बिहान ६ बजे उठ्ने गरेको त्यसपछि खाजा खाएर प्रार्थना गर्ने गरेको र बिहान आठ बजेदेखि साँझ ६ बजेसम्म लगातार कठोर काम गरेको बताएका छन्।

उत्तर कोरियाको बन्दीगृहमा ७ सय ३५ दिन बिताउँदा उनले करिब २७ किलो तौल गुमाएका थिए।

तौल कम भएपछि उनको स्वास्थ बिग्रिंदै गएको थियो र उनलाई बारम्बार उपचारका लागि अस्पताल लैजानुपरेको थियो।

पीडा

शारीरिक कठिनाई बाहेक मानसिक पीडा र एक्लोपन पनि बेहोर्नुपरेको उनले लेखेका छन्।

एकजना बयान लिन खटाइएका अधिकारीले उनलाई "तिमीलाई कसैले सम्झिंदैन्, तिम्रा मानिस र तिम्रो सरकारले तिमीलाई बिर्सिसके। तिमी निकट भविष्यमा कुनै हालतमा घर फर्कन पाउँदैनौ, तिमी यहाँ १५ वर्षसम्म बस्नुपर्छ, यहाँबाट घर फर्किने बेलासम्म तिम्रो उमेर ६० वर्ष पुगिसक्छ" भनेर भनेको उनले लेखेका छन्।

तस्वीर कपीराइट AFP GETTY

बे भन्छन्, "त्यसबेला मैले आफूलाई माकुराको जालोमा अल्झिएको एउटा निरीह किरा जस्तो अनुभव गरे। म जतिजति अघि बढ्न प्रयास गर्थे अवस्था त्यति नै नराम्रो बन्दै जाने गर्थ्यो र निकल्न सक्ने बाटो कतै देखिंदैनथ्यो।"

महिनौँको सोधपुछपछि आफूलाई इमेल र घरबाट मानिसहरुले पठाएका सन्देशहरु पढ्न दिइएको उनले जनाएका छन्। तर त्यसबेला पनि आफूले ढाडस र यातना दुवै पाएको उनको भनाई छ।

उनलाई ईसाई धर्मग्रन्थ बाइबल समेत बन्दीगृहमा राख्न दिएको बुझिन्छ।

एकदमै बिरामी परेपछि उत्तर कोरियाली अधिकारीहरुमा उनी मर्ने पो हुन् कि भन्ने चिन्ता लागेको र त्यसबाट कूटनीतिक रुपमा अप्ठेरो पर्नसक्ने उनीहरुले ठानेको जस्तो बुझिन्छ।

त्यहीं भएर उनीहरुले उनको रिहाईको बन्दोबस्त गरेका थिए जुन हालै रिहा गरिएका ओटो वार्मबिएरको सन्दर्भमा पनि लागू भएजस्तो देखिन्छ।

'आफ्नो चिहान आफैँ खन्'

मूलथलो दक्षिण कोरिया भएका केनेथ बे अमेरिकी नागरिक हुन् तर उनी कोरियाली भाषा बोल्छन्।

उनले बन्दीगृहको आफ्नो कक्षमा शौचालय र ओछ्यान दुवै उपलब्ध गराइएको बताएका छन्।

उनले कतिपय अपराध वा विद्रोहको आरोपमा पक्राउ परेका उत्तर कोरियालीभन्दा कठोर व्यवहार आफूलाई नगरिएको महसुस गरेको पनि उल्लेख गरेका छन्।

उनको भनाई सत्य पनि हुनसक्छ।

एउटा अधिकारवादी संस्था एमनेष्टी इनटरनेशनलले उत्तर कोरियाका बन्दीगृहमा सहनै नसकिने गरी यातना दिने गरिएको बताउने गरेको छ।

"राजनीतिक बन्दीशिविर र अन्य बन्दीगृहहरु गरी कोरियामा बालबालिकासहित लाखौँ मानिसहरु थुनामा छन्," एमनेष्टीले भनेको छ, "उनीहरुमध्ये कैयौँले कुनै अपराध गरेका छैनन् र कतिपय अवस्थामा परिवारका कुनै सदस्यले गरेका भनिएका गम्भीर राजनीतिक अपराधलाई लिएर बाँकीलाई पनि थुनामा राखिएका छन्।"

आकाशबाट खिचिएको तस्वीरको विश्लेषणका आधारमा एमनेष्टी इन्टरनेशनलले गरेको एउटा विश्लेषणमा उत्तर कोरियाको एउटा बन्दीगृहको आकार २० हजार कैदी बस्ने अमेरिकाको वाशिङटन डिसीको बन्दीगृहभन्दा तीन गुणा ठूलो रहेको जनाएको छ।

एकजना पूर्व अधिकारीका अनुसार कतिपय अवस्थामा बन्दीहरुलाई आफ्नो चिहान आफैं खन्न लगाउने र बलात्कारलाई दण्डको रुपमा प्रयोग गर्ने र त्यसपछि पीडित बेपत्ता भएका घटनाहरु पनि छन्।

केनेथ बेले आफूलाई शारीरिक रुपमा यातना दिइएको वा कुटिएको भनेका छैनन्। तर बन्दीगृहमा बस्दा गरिएको कठोर व्यवहारका कारण उनलाई मधुमेह, उच्च रक्तचाप र मृगौलामा समस्या देखिएको थियो।

तस्वीर कपीराइट AFP PHOTO / KCNA

हालै रिहा भएका ओटो वार्मबिएरको सन्दर्भमा यस्तो भएको पनि हुनसक्छ वा नभएको पनि हुनसक्छ।

तर अमेरिकाका अधिकारीहरुले उनी कसरी अर्धचेत अवस्थामा पुगे भनेर जवाफ खोजिरहेका छन्।

र, किन उत्तर कोरियाले यसबारे एक वर्षसम्म अर्को देशलाई जानकारी गराएन भन्ने प्रश्न पनि उठिरहेको छ।

यदि शारीरिक आक्रमणका कारण उनले स्वास्थ्य समस्या भोगेका हुन् भने प्योङयाङविरुद्ध कडा कदम चाल्न राष्ट्रपति डोनल्ड ट्रम्पलाई राजनीतिक दवाव पर्न सक्ने थियो।

यसबाहेक कैदीहरुले कारागारका जेलरहरुलाई कतिको प्रभाव पार्छन् भन्ने अर्को प्रश्न पनि उब्जिएको छ।

भ्रम

'स्टकहोम सिन्ड्रोम' भनिने अवस्थामा बन्दी बनाइएको व्यक्तिले आफूलाई नियन्त्रणमा लिने मानिससँग आफूलाई मिल्दोजुल्दो महसुस गर्छ तर के यो उक्त सिन्ड्रोमको विपरीत व्यवहार हो? भनेर पनि प्रश्न उठिरहेका छन्।

केनथ बेले आफूलाई बन्धकी बनाउनेहरुलाई पश्चिमा विश्वको आफ्नो जीवनशैलीबारे बताएका थिए।

उनीहरुले अमेरिकामा घरको मूल्य कति छ र कति मान्छेसँग घर र कार छ भन्ने जस्ता प्रश्न उनलाई सोधेका थिए।

"शुरुमा एकदमै गाह्रो भयो किनभने अवस्था अप्ठेरो थियो तर भाषा जानेकाले मैले कुराकानी गर्न सक्थेँ," रिहा भएपछि उनले भनेका थिए।

उत्तर कोरियालीहरुलाई अमेरिकामा एकदमै कष्टकर जीवन रहेको र त्यहाँ ९९ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि रहेको बताउने गरिन्थ्यो।

"मैले उनीहरुलाई धेरैजना मानिसहरुसँग आफ्नै घर र कार रहेको बताए तर उनीहरुले मलाई त्यो सत्य होइन भनेर पो जवाफ दिए।"