निर्वाचन कार्यक्रममा फेरबदल

  • 15 जुन 2017
Image caption मतदान भने असार १४ गते नै हुनेछ

निर्वाचन आयोगले असार १४ गते ३ वटा प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रममा फेरबदल गरेको छ।

जसअनुसार उम्मेदवारी दर्ता असार ४ गते गर्ने र ६ गते उम्मेदवारलाई चुनाव चिन्ह दिइने छ।

सरकारको लिखित आग्रह अनुसार २ गतेका निम्ति निर्धारित उम्मेदवारी दर्ता २ दिन पर सारिएको आयोगका पदाधिकारीहरुले बताएका छन्।

यस अवधिमा राष्ट्रिय जनता पार्टीलाई दल दर्ता र उम्मेदवारीका लागि आधिकारिक हस्ताक्षर बुझाउन समय दिइने पनि बताइएको छ।

अनुमोदन

प्रदेश नम्बर २ को निर्वाचन सार्ने निर्णय आफुहरुसँगको परामर्श विना नै गरिएको भन्दै असन्तुष्ट बनेका आयोगका पदाधिकारीहरुको बैठकले पछि सरकारको प्रस्ताव अनुमोदन गरेको थियो।

सरकारको लिखित आग्रह अनुसार प्रदेश नम्बर १, ५ र ७ नम्बरको चुनावी कार्यतालिका संशोधन गरिएको आयोगका एकजना आयुक्त ईश्वरी पौडेलले बीबीसीलाई बताए।

उनले भने, " दुई नम्बर प्रदेशका सबै कार्यक्रम स्थगित गर्न निर्णय गरियो र बाँकी प्रदेशको उम्मेदवारी दर्तालाई ४ गते सा-यौं र ६ गते उम्मेदवारलाई चुनाव चिन्ह दिने गरी कार्यक्रम परिमार्जन गरेका छौं।"

यसअघि २ गते उम्मेदवारी दर्ता गर्ने र ५ गते उम्मेदवारलाई चुनाव चिन्ह दिने आयोगको कार्यतालिका थियो।

संशोधित कार्यतालिका अनुसार ५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन जाँच गर्ने, उम्मेदवारको नामावली प्रकाशित गर्ने, ६ गते उम्मेदवारी फिर्ता लगायतका कार्यक्रम छन्।

निर्वाचन प्रकृया

उम्मेदवारी दर्ताको मिति सारे सँगै आयोगले स्थानीय तह निर्वाचन कानुनमा गरिएको संशोधन बमोजिम ती प्रदेशको निर्वाचन प्रकृयामा भाग लिन राष्ट्रिय जनता पार्टीले अवसर पाउने छ।

फेरि आयुक्त पौडेलले भने, "उहाँहरुले शुक्रबारसम्ममा आधिकारिक हस्ताक्षर र पार्टी दर्ता गर्ने काम टुङग्याउनु भयो भने शनिबारसम्म उक्त हस्ताक्षर निर्वाचन अधिकृतको कार्यालयमा पु-याइदिन्छौं, त्यसले उम्मेदवारी दर्ता गर्न अपठ्यारो पर्दैन।

यस अघि पटक पटक आधिकारिक हस्ताक्षर बुझाउन मौका दिइए पनि राजपाले आफुहरुले उठाउदै आएका मागहरु सम्बोधन नभएको भन्दै आयोग समक्ष हस्ताक्षर बुझाएको थिएन।

अब भने हस्ताक्षर बुझाउने या नबुझाउने भन्ने बारेमा अध्यक्ष मण्डलको शुक्रवार बस्ने बैठकले निर्णय गर्ने सो दलले जनाएको छ।

अब असार १४ गते प्रदेश नम्बर १ ५ र ७ का ३ सय ३४ वटा स्थानीय तहमा निर्वाचन हुने छ।

ती प्रदेशमा २ सय १५ गाँउपालिका, १ सय ११ वटा नगरपालिका, ७ वटा उपमहानगरपालिका र एक महानगरपालिका छन्।