उत्तर कोरियाली भनाइ अस्वीकार

  • 16 जुन 2017
वार्म्बीयर तस्वीर कपीराइट Reuters
Image caption वार्मबीयरका माता तथा पिताले छोराको अवस्थाबारे आफूहरु १५ महिनासम्म अनभिज्ञ रहेको बताएका छन्।

उत्तर कोरियाको एक बन्दीगृहबाट रिहा गरिएका अमेरिकी विद्यार्थी अटो वार्मबीयरलाई उत्तर कोरियाले भनेजस्तो 'बोटुलिजम'को संक्रमण नभएको चिकित्सकहरुले बताएका छन्।

उत्तर कोरियाको एक बन्दीगृहबाट रिहा गरिएका २२ वर्षिय अमेरिकी विद्यार्थी अटो वार्मबीयरको मस्तिष्कको तन्तुमा निकै क्षति पुगेको चिकित्सकहरुले बताएका छन्।

ओहायोका वार्मबीयरलाई उत्तर कोरियाले १५ महिना थुनेर मुक्त गरिदिएको हो।

घर फर्किएपछि उनले कसैसँग केही नबोलेको बताइएको छ।

उनको उपचारमा संलग्न एक चिकित्सक डाक्टर ड्यानीयल कान्टरले उनको मस्तिष्क व्युँझिएको देखिएपनि त्यसले कुनै प्रतिक्रिया नजनाइरहेको बताए।

सीन्सीनाटी विश्वविद्यालयको चिकित्सा केन्द्रका चिकित्सकहरुले विरामी र उनको पारिवारिक संवेदनशीलतालाई मध्यनजर गर्दै वार्मबीयरको अवस्था सामान्य हुने वा नहुनेबारे केही बताएनन्।

'कोमा'

उनीहरुले वार्मबीयर कसरी 'कोमा'मा पुगे त्यो पनि थाहा नभएको बताए।

उनी एक वर्षअघि 'कोमा'मा पुगेको भनिएको छ।

उत्तर कोरियाली अधिकारीहरुले भने झैं उनीमा 'बोटुलिजम' भनीने एक प्रकारको व्याक्टेरियाको संक्रमणको कुनै लक्षण नदेखिएको चिकित्सकहरुको भनाइ छ।

प्योङ्याङले अटो वार्मबीयरलाई मानवीय कारण देखाउँदै मुक्त गरिएको बताएको छ।

तर अटो वार्मबीयरका पिताले आफूलाई उत्तर कोरियाको कुनै पनि कुरा विश्वास नलागेको प्रतिक्रिया दिए।