लण्डन आगलागी: मृतकको संख्या कम्तीमा ३०

  • 16 जुन 2017
महारानी तस्वीर कपीराइट PA
Image caption ब्रिटेनकी महारानी एलिजाबेथ र राजकुमार विलियम्सले आगलागी पीडितका लागि स्थापित राहत केन्द्रमा पुगेर पीडितहरुलाई भेटेका छन्

ब्रिटेनकी महारानी एलिजाबेथ र राजकुमार विलियम्सले ग्रीनफेल टावरका आगलागी पीडितहरुका लागि खोलिएको राहत केन्द्रको भ्रमण गरेका छन्।

हराईरहेका मध्ये केही सँधैका लागि बेपत्ता रहने प्रहरीको भनाइ आएका बेला उनीहरुले वेष्टवे स्पोर्ट्स सेन्टरको भ्रमण गरेका हुन्।

पश्चिम लण्डनको आगलागीमा परेर मृत्यु हुनेको संख्या ३० जना पुगेको प्रहरीले पुष्टि गरेको छ।

अस्पतालमा रहेका सबैको पहिचान खुलेको र आगलागी नियतबस गराइएको भन्ने कुनै प्रमाण फेला नपरेको मेट्रोपोलिटन प्रहरी कमाण्डर स्टुआर्ट कन्डीले बताए।

प्रशंशा

उक्त अपार्टमेन्टमा गत बुधबार राती एक बजेपछि आगलागी शुरु भएको थियो।

महारानी र राजकुमारले स्वयंसेवकहरु, स्थानीय बासिन्दाहरु र समुदायका प्रतिनिधिहरुसँग भेटेका थिए।

महारानीले बिहीबार अग्नि नियन्त्रकहरुको बहादुरीको र स्वयंसेवकहरुको प्रशंशा गरेकी थिइन्।

आपतकालीन सेवा प्रदायकहरुले तेश्रो दिन पनि शवहरुको खोजी गरेका छन्।

तस्वीर कपीराइट Getty Images
Image caption प्रधानमन्त्री टरिजा मे र मेट्रोपोलिटन प्रहरी कमाण्डर स्टुआर्ट कण्डी घटनास्थलको निरिक्षणमा

प्रमुख अग्नि नियन्त्रकले अब कोही पनि बाँचेको फेला पर्ने आशा नराखेको बताए। प्रहरीले आगलागीबारे अपराधिक अनुसन्धान शुरु गरेको छ।

पुनर्बास

प्रधानमन्त्री टरिजा मेले सार्वजनिक छानविनको आदेश दिएकी छन्।

प्रधानमन्त्री टरिजा मेले बिहीबार घटनास्थल पुगेर पनि पीडितहरुसँग भेटघाट नगरेको भन्ने आलोचना भएपछि शुक्रबार अस्पताल पुगेर घाइतेहरुसँग उनले कुराकानी गरेकी थिइन्।

भवन मन्त्री आलोक शर्माले हरेक प्रभावित परिवारलाई सोही क्षेत्रमा पुनर्बासको व्यवस्था मिलाउन स्थानीय अधिकारीहरुसँग काम गरिरहेको बताए।

तर केन्सिङटन र चेल्सी काउन्सिलले जारी गरेको विज्ञप्तिमा पुनर्बास गराउनेबारे राजधानीका अन्य ठाउँको पनि खोजी गरिने बताइएको छ।