चुनाव गर्ने र विथोल्ने आआफ्नै अडान

  • 16 जुन 2017
राजपा

स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईको निर्वाचन सारिएको भोलीपल्ट शुक्रवार सरकारले जुनसुकै हालतमा चुनाव गराउने बताउदाँ आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले भने चुनाव विथोल्न संघर्षका कार्यक्रम गर्ने अडान पुन: दोहोयाएका छन्।

शुक्रवार बसेको राजपा नेपालको बैठकले सरकारले आफ्नो सहमति बिना निर्वाचन सार्ने निर्णय गरेको भन्दै तीन वटा प्रदेशमा असार १४ मा गर्न लागिएको चुनाव विथोल्ने निर्णय गरेको छ।

तर गृहमन्त्री जनार्दन शर्माले सरकारले सहमतिमै चुनाव सार्ने निर्णय गरेको दावी गर्दै मतदानका लागि सुरक्षित वातावरण बनाइने बताएका छन्।

सरकारले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचन सार्ने र बाँकी प्रदेशमा उम्मेदवारी दर्ताको मिति सार्ने निर्णय गरे लगतै राजपा नेपालले बाहिर रहेका आफ्ना अध्यक्ष मण्डलका सदस्यलाई राजधानी बोलाएर छलफल गरेको थियो।

असहमति

पार्टीको बैठकले सरकारले दुई नम्बर प्रदेशको निर्वाचन सार्ने र अन्य प्रदेशमा उम्मेदवारी दर्ताको मिति सार्ने निर्णयमा आफ्नो सहमति नरहेको प्रष्ट पारेको छ।

सरकारी पक्षले तराईलाई विभाजन गर्न खोजेको भन्दै राजपा नेपालले आफ्ना पूर्व घोषित आन्दोलनका कार्यक्रममा परिमार्जन गर्दै चुनावमा अवरोध पुर्याउनेसम्मका विरोध प्रदर्शनका योजनालाई निरन्तरता दिइने जनाएको छ।

राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने, "दोस्रो चरण भनिएको तीनवटा प्रदेशको निर्वाचनमा सहभागी नहुने, त्यो चुनावलाई अवरोध पुर्याउने र सकेसम्म हुन नदिने निर्णय गरेका छौं।"

राजपा नेपाल सहित कतिपय अन्य जातीय तथा क्षेत्रीय दलहरु संलग्न संघीय गठबन्धनले पनि उक्त निर्णयमा समर्थन जनाएको छ।

असार चार गतेको उम्मेदवारी दर्ता र १४ गतेको मतदानका दिनमा बन्द र आमहडताल जस्ता विरोध कार्यक्रमको घोषणा गरिएको छ।

निरन्तरता

निर्वाचनको मिति सारिएको प्रदेश नम्बर दुईमा पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने राजपा नेपालका नेताहरुको भनाई छ।

तर सरकारले भने अझै पनि राजपा नेपाल चुनावी प्रकियामा आउनेमा आशावादी रहेको बताएको छ।

गृहमन्त्री जनार्दन शर्भा भन्छन्, "उहाँहरुसँग बैठक गरेर सहमतिका आधारमा निर्णय भएको हो अब सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्छ उहाँहरुले पनि कुनै न कुनै चुनावमा भाग लिनु हुन्छ भन्ने विश्वास छ। "

असार १४ गते स्थानीय तहको निर्वाचन हुने तीनवटै प्रदेशमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको र अवरोध विना निर्वाचनका कार्यक्रमहरु अगाडी बढने मन्त्री शर्माले दावी गरेका छन्।

उनले भने "सरकारले आफ्नो सम्पूर्ण सुरक्षा तयारी गरेको छ मतदाताले ढुक्कसँग मतदान गर्न पाउने र शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गरिने छ।"

आजै निर्वाचन आयोगले निर्वाचनको मिति पछाडि सारिएको प्रदेश नम्बर दुईका सबै निर्वाचन कार्यालयहरु बन्द गर्ने र कर्मचारीलाई आफ्नो पूर्ववत् काममा फर्किन निर्देशन पठाएको छ।

निर्वाचन सम्वन्धी सम्पूर्ण सामाग्रीहरु सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको बताइएको छ।