लण्डन आगलागीले उत्पन्न उदासी छल्न 'कठिन'

  • 17 जुन 2017
महारानी तस्वीर कपीराइट PA
Image caption महारानीले आगलागी पीडितहरुलाई राखिएको अस्थायी शिविर पुगेर स्थानीय बासिन्दालाई भेटेकी थिइन्

ब्रिटेनकी महारानी एलिजाबेथले लण्डन र म्यानचेष्टरका पछिल्ला दुखान्त घटनाहरुका कारण राष्ट्रव्यापी रुपमा छाएको उदासी छल्न मुस्किल भएको बताएकी छन्।

महारानीले भनिन् 'पछिल्ला हप्ताहरुमा ब्रिटेनले एकपछि अर्को दुखान्त बेहोर्नुपरेको छ।'

कम्तीमा ३० जनाको ज्यान जाने गरी भएको ग्रीनफेल टावर आगलागीविरुद्धको विरोध प्रदर्शनपछि उनको जन्मदिनको औपचारिक सन्देश आएको छ।

महारानीको सन्देशमा भनिएको छ, "परीक्षणको बेला छ, कठिन परिस्थितिमा अधिराज्य अटल रहेको छ।"

भयानक दुखान्त

महारानी एलिजाबेथ र राजकुमार विलियम्सले दुघर्टनापछि स्वयंसेवकहरु, स्थानीयबासिन्दा र समुदायका प्रतिनिधिहरुसँग भेटेका थिए।

शनिबारको सन्देशमा महारानीले भनेकी छन्, "म्यानचेष्टर र लण्डनका पछिल्ला भ्रमणक्रममा आवश्यक परेकाहरुलाई तत्काल सहयोग पुर्याउने मानिसहरुको तत्परताबाट हामी प्रभावित भएका छौं।"

तस्वीर कपीराइट PA
Image caption बलेको मैनबत्ती सहितका सयौं मानिसहरु जम्मा भएर दुई मिनेट मौन धारण गरेका थिए

"दु:खका बेला हामी एकताबद्ध भएका छौं, र कसैलाई काखा पाखा नगरीकन र त्रसित नभई आफ्नो सर्वस्व गुमाएका प्रभावितहरुलाई सहयोग गर्न हामी उत्तिकै प्रतिबद्ध छौं।"

गत बुधबार पश्चिम लण्डनस्थित बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ३० जनाको ज्यान गुमेको छ भने दुर्घटनामा थप कति परे भन्ने प्रष्ट आँकडा आएको छैन।

बीबीसीका राजकीय संवाददाता पिटर हण्टको विश्लेषण:

महारानीले आफ्नो लामो राज्यकालमा अनगिन्ती विज्ञप्तिहरु जारी गरेकी छन्।

तर त्यस्ता विज्ञप्तिहरु कहिलेकाहीं असाध्यै सूत्रात्मक र वास्तविकता दर्शाउन नसकेको जस्ता लाग्छन्।

तर अहिलेको विज्ञप्ति त्यस्तो होइन।

म्यानचेष्टर र लण्डन आक्रमणपछि महारानी र महत्वपूर्ण रुपमा उनका वरिष्ठ सल्लाहकारहरुले ग्रेनफेल टावर आगलागीबारे दिएको प्रतिक्रिया दु:ख र आघातको मात्र थिएन।

त्यसमा गहिरो आक्रोश पनि छ। त्यो धनी र गरिबबीचको खाडलमा केन्द्रित रहेको छ। संस्था आफैले आलोचनाको विषय नबनेको भएपनि विज्ञप्ति राजतन्त्र सहितको संस्थापन पक्षप्रति लक्षित थियो।

यस्ता दुखान्त परिस्थितिहरुमा राष्ट्र प्रमुखका रुपमा केन्द्रमा रहेकी रानीले आफू चुपचाप रहन नसक्ने निर्णय गरेकी छन्।

उनी र उनी वरपर रहेकाहरु आगामी दिनमा बढ्न सक्ने असन्तोषको सम्भावनाबारे अत्यन्त सचेत पनि छन्।

९१ वर्षीय महारानीसँग थोरैमात्र शक्ति छ तर उनीसँग रहेको बृहत् संरक्षकत्व र देशमा उनको उच्चतम् स्थानका कारण उनले कदम चाल्ने निर्णय गरेकी हुन्।

यो एकताका लागि राजकीय आह्वान हो।