मस्जिदछेउ भ्यानले ठक्कर दिंदा एकको मृत्यु

  • 19 जुन 2017
लण्डन तस्वीर कपीराइट Reuters

ब्रिटेनको लण्डनमा एउटा भ्यानले पैदलयात्रुको समूहलाई ठक्कर दिंदा एकजनाको ज्यान गएको छ भने आठजना घाइते भएका छन्।

प्रहरीले बिहानीको समयमा फिन्सबरी पार्क जिल्लामा भएको उक्त घटनालाई गम्भीर दुर्घटना भनेको छ।

मानिसहरुद्वारा समातिएका भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिआतंकवाद प्रहरीले घटनाबारे अनुसन्धान थालेको बताइएको छ।

परिचालन

मुस्लिम समुदायलाई सुरक्षाप्रति आश्वस्त तुल्याउन थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

ब्रिटेनको मुस्लिम काउन्सिलले श्रद्धालुहरुलाई उक्त भ्यानले नियोजित रुपमा ठक्कर दिएको जनाएको छ।

घाइतेमध्ये धेरैजना रमजानको व्रत तोडी प्रार्थना सकेर फर्किरहेका मानिसहरु हुन सक्ने ठानिएको छ।

तस्वीर कपीराइट Reuters

लण्डन एम्बुलेन्स सेवाले घटनास्थलमा आफ्ना उद्धार टोलीहरु खटाएको जनाएको छ।

घटना लगत्तै अनलाइनमा राखिएका भिडियोमा मानिसहरुले घाइतेलाई मद्दत गर्न प्रयास गरेको अन्योलपूर्ण अवस्था देखिन्छ।

त्रास

एकजना व्यक्तिले घाइतेलाई चोकमा नै श्वासप्रश्वासका लागि मद्दत गरिरहेको र अर्कोले टाउकोमा चोट लागेका व्यक्तिलाई कामचलाउ पट्टी लगाइदिन खोजेको देखिन्छ।

'सेभेन सिस्टर्स रोड' भनिने उक्त क्षेत्रमा बस्ने एकजना प्रत्यक्षदर्शीले मानिसहरुले होहल्ला गरेको र चिच्याएको आफूले सुनेको बताइन्।

उनले भनिन्, "सबैजनाले एउटा भ्यानले मानिसहरुलाई ठक्कर दिइरहेको छ भनेर कराइरहेका थिए, फिन्सबरी पार्कको मस्जिद बाहिर रोकेर राखिएको एउटा सेतो भ्यानले प्रार्थना सकेर त्यहाँबाट बाहिर निस्किरहेका मानिसलाई ठक्कर दिएको जस्तो देखिन्छ।"

उनका अनुसार त्यस क्षेत्रमा प्रहरीका कार, एम्बुलेन्स र दमकलहरु परिचालन गरिएका छन्।