विद्यार्थीलाई कर्जा दिनेलाई कारवाही

  • 19 जुन 2017
विद्यार्थीलाई इन्टरनेट मार्फत पैसा उदारो दिने तस्वीर कपीराइट Reuters

चीनमा विश्वविद्यालयका विद्यार्थीलाई लक्ष्य गर्दै इन्टरनेटमार्फत पैसा उधारो दिने अनियमित उद्योगबारे चिन्ता व्यक्त भएपछि सरकारले त्यस्ता ऋणदाताविरुद्ध कारवाही गर्ने भएको छ।

चीन सरकारले हालै जारी गरेको निर्देशिकामा पैसा सापटी दिने साहुहरुलाई पैसा उधारो माग्ने विद्यार्थीलाई लोभ्याउने खालका कुनै क्रियाकलाप नगर्न आदेश दिइएको छ।

अत्यधिक ब्याज लिने गरेको र धितोमा ऋणीको निर्वस्त्र तस्बिर राख्‍न माग गर्ने जस्ता अपाच्य प्रचलन बारेका विवरणहरु प्रकाशित भएपछि चीन सरकारले कडा कदम चालेको हो।

चीनमा केही वर्षयता व्यक्ति-व्यक्तिबीच अनलाईनमार्फत पैसा लेनदेन व्यवहार लोकप्रिय बनेको छ।

निर्देशन

स्थानीय भाषामा 'वाङ दाइ' भनि चिनिने त्यस्तो आर्थिक कारोबारमा अपरिचित व्यक्तिहरुले वेबसाईट र फोनमा हुने एपमार्फत सानो ऋण प्रवाह गरेको देखिएको छ।

ज्याङ्शीको प्रान्तीय सरकारले वेबसाइटमा राखेको विज्ञप्ति अनुसार चीनको ब्याङ्क, शिक्षा र सामाजिक सुरक्षा हेर्ने निकायले त्यस्तो निर्देशन जारी गरेका हुन्।

लुट्ने हिसाबले कर्जा दिने र अन्य व्यवहारले 'विश्वविद्यालयका विद्यार्थीहरुको सुरक्षालाई क्षति पुर्याएका' असामीहरुलाई सम्बोधन गर्ने उपायहरु चाहिएको उसले बताएको छ।

पैसा उधारो दिनेहरुको स्पष्ट संख्या थाहा नभए पनि एक लघुवित्त पोर्टलले त्यस्तो कार्यमा संलग्न कम्तीमा पाँच सयको सूची निकालेको छ।

चिनीयाँ संचार माध्यमका अनुसार केही वर्षयता पैसा उधारो दिनेहरुले छिटो र सजिलो ऋण खोजिरहेका विश्वविद्यालयका विद्यार्थीहरुलाई निशाना बनाउने गरेका छन्।