मन्त्री नभएका मन्त्रालयको काम प्रभावित

  • 19 जुन 2017
प्रभानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले पूर्ण आकार लिन नसक्दा मन्त्री नियुक्त नभएका २२ वटा मन्त्रालयमा राजनीतिक तहबाट हुनुपर्ने निर्णयहरु प्रभावित भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

ती सबै मन्त्रालय अहिले प्रधानमन्त्रीले सम्हालिरहेका छन्।

दैनिक कामकाजमा कुनै समस्या नरहेपनि पुनर्संरचनाको बेला मन्त्री भएमा सहज हुने उनीहरुको भनाइ छ।

पूर्व प्रशासकहरुले भने मन्त्री नभएको कारण देखाउदै मन्त्रालयमा गरिनुपर्ने अन्य काममा पनि ढिलाई गर्ने प्रवृत्ति बढ्न सक्ने बताएका छन्।

सरकारलाई पूर्ण आकार दिने जिम्मेवारी पाएका सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले भने मन्त्रिमण्डल विस्तारको काम स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि मात्रै हुने जनाएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सम्हालेको समय आधा महिना बितिसकेको छ।

प्रभावित

आफुले पद तथा गोपनीयताको शपथ लिने दिन सातजना मन्त्री चयन गरेका उनको जिम्मामा अहिले रक्षा, भौतिक पूर्वाधार, सामान्य प्रशासन लगायतका २२ वटा मन्त्रालय छन्।

जुन मन्त्रालयहरुले मन्त्रीस्तरबाट गर्नुपर्ने निर्णयका लागि प्रधानमन्त्रीलाई खोज्दै हिड्नुपर्ने अवस्था रहेको कतिपय मन्त्रालयका सचिवहरु बताउँछन्।

पुनर्संरचनाको काम भइरहेको अवस्थामा मन्त्रालय गाभ्ने र कमर्चारीको मिलान जस्ता काम प्रभावित भएको उनीहरुको भनाइ छ।

पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसी त्यस्तै मध्येका एक हुन्।

उनले भने, " केही नीतिगत कुराहरु, अनुदानका कुराहरु, केही बजेट वृद्धिका कुराहरुलाई पनि राजनीतिक तहको मन्त्री हुंदो हो त त्यसमा अलि जोड पुग्थ्यो भन्ने हामीलाई महसुस भएको छ। "

दैनिक रुपमा मन्त्रालयबाट हुने कामकाज भने नियमित जस्तै भैरहेको उनको भनाइ छ।

बहाना

मन्त्रालयमा मन्त्री नहुँदा राजनीतिक रुपबाट हुनुपर्ने पहल नहुने र मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले समय नदिने जस्ता समस्या आउने भनाइ पूर्व प्रशासक द्वारिका ढुङगेलको छ।

दैनिक रुपमा मन्त्रालयबाट हुने कार्यसम्पादनमा पनि मन्त्री नुहनु एउटा बहाना हुने उनले बताए।

ढुङगेलले भने, " नियमित रुपमा काम गर्नलाई, जनतालाई सेवा दिनलाई कुनैपनि रुपमा असर पर्दैन। तर मूल कुरा काम नगरिदिने प्रवृत्ति हो। हामीमा के छ भने मन्त्री आएपछि गरौंला, पख्नोस् न, मन्त्री कहिले आउला, प्रधानमन्त्रीसंग भेट हुंदैन भन्ने मानसिकता छ।"

Image caption प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आधा महिना भइसकेको छ

हालसम्म प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका मन्त्रालयहरुमा छिट्टै मन्त्री तोक्ने सम्भावना देखिएको छैन।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबिच मन्त्रालयको बाँडफाँडको टुङगो लगाउन बनेको चार सदस्यीय टोलीले हालसम्म मन्त्रालयको भागबन्डामा समेत सहमति जुटाउन नसकेको टोलीमा रहेका कांग्रेस नेता बिमलेन्द्र निधिले बताए।

उनले भने, " टुङग्याइएको पनि छैन। असमझदारी पनि भएको होइन। अझै टुङगो लाउन बाँकी छ। निर्वाचनमा हामी ब्यस्त भएकोले त्यसपछि गर्ने सोच भएको हो। "

पार्टीले पाउने मन्त्रालयको संख्याको टुङगो लागेपनि कुन मन्त्रालय कुन दलले पाउने भन्ने सहमति हुन बाँकी रहेको बताइएको छ।

मन्त्रालयको टुङगो लागि सकेपछि पनि कसलाई पठाउने भन्ने र सतारुढ दलभित्रका गुट उपगुटलाई सन्तुष्ट पार्नुपर्ने अवस्थाले सरकारले पूर्ण आकार पाउन अझै ढिलाइ हुने अनुमान गरिएको छ।