लण्डनमा मस्जिदनिर भएको हमलाको निन्दा

  • 19 जुन 2017
मुस्लिम धर्मावलम्वीहरु तस्वीर कपीराइट AFP

ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले उनको सरकार सबै प्रकारको आतंकवाद र अतिवादका विरुद्ध लड्न प्रतिबद्ध रहेको बताएकी छिन् ।

उत्तर लण्डनस्थित एउटा मस्जिद नजिकै एउटा भ्यान मुसलमानहरुको समूहमाथि चढाएर भएको आक्रमणपछि प्रधानमन्त्री मे को त्यस्तो टिप्पणी आएको हो।

लण्डन महानगरका मेयर सादिक खानले मस्जिदहरु वरपर प्रहरी गस्ती बढाइने बताएका छन्।

उनले दुई हप्ताअघि लण्डनब्रीजमा भएको जिहादी हमलापछि सामुदायिक घृणाबाट प्रेरित अपराधहरुको संख्यामा वृद्धि भएको पनि बताएका छन्।

गिरफ्तार

एकजना पुरुषले लण्डनको फिन्सबरी पार्कस्थित मुसलमान कल्याण गृह नजिकै श्रद्धालुहरुको भिडमाथि एउटा भ्यान लगेर जोताएका थिए। उक्त घटनामा एकजनाको ज्यान गएको छ।

सो घटनाका सम्बन्धमा एकजना ४८ वर्षिय पुरुषलाई हत्याको प्रयासको अभियोगमा गिरफ्तार गरिएको छ।

लण्डनको प्रहरी प्रमुखले उक्त घटना स्पष्ट रुपमा मुसलमानहरु माथिको आक्रमण भनेकी छिन्।

युकेमा गत तीन महिनाभित्र भएको यो चौथो आतंकवादी घटना हो। यसअघि वेस्टमिन्सटर, म्यानचेष्टर र लण्डन ब्रीजमा हमला भएको थियो।

प्रहरीले यो पछिल्लो घटनाका पिडित सबै नै मुसलमानहरु रहेको बताएको छ।

ति मध्ये धेरै जसो रमजानको ब्रत तोडेर प्रार्थना गरेर फर्कीरहेकाहरु रहेका बुझिएको छ।