जब फेरि गुन्जीयो वेम्बली एरेनामा नेपाली संगीत

  • 19 जुन 2017
तस्वीर कपीराइट Everest Gautam
Image caption चर्चित गायक विपुल क्षेत्रीले गाउँदा दर्शकहरु रोमान्चित बनेका देखिन्थे

लण्डनको विश्वप्रसिद्ध एसएसइ वेम्बली एरेनामा शनिबार बेलुका हजारौं उत्साहित युवा दर्शकहरुसामु नेपालका चर्चित कलाकारहरुले साँगीतिक प्रस्तुति गरे।

चर्चित कुटुम्ब व्याण्डका कलाकारहरु आआफ्ना बाजाकासाथ स्टेजका उत्रँदा दर्शकहरुले उत्साहका साथ उनीहरुलाई स्वागत गरेका थिए। जून फेस्टीभल २०१७ नाम दिइएको आयोजनमा लण्डन र वरिपरिका शहरहरुबाट खासगरी भूतपूर्व गोर्खा सैनिकका सन्तानहरु हजारौंको संख्यामा भेला भएका थिए।

कुटुम्ब व्याण्डका कलाकारहरुले बाँसुरी, सारङ्गी, धीमे, ढोलक जस्ता बाजाहरुमा आफ्नो प्रस्तुति गरेका थिए।

भव्य

साउण्ड र लाइटको विशेष व्यवस्थाले कार्यक्रमलाई भव्य तुल्याएको थियो।

बी फेस्ट र पर्चा प्रोडक्सनले आयोजना गरेको कार्यक्रममा हजारौं दर्शकहरु स्टेजको सामुन्ने खुल्लाठाउँमा उभिएरै रमाइलो गरेका थिए, अरु कैयौं स्टेजको दुबैतिर सीटमा बसेर रमाइ रहेका देखिन्थे।

रक संगीतकालागि चर्चित द एज व्याण्डका कलाकारहरुले आफ्नो एल्बमका गीतहरु सुनाएका थिए। त्यस्तै एलबाट्रस व्याण्डका कलाकारहरुले पनि चर्चित गीतहरु प्रस्तुत गरेका थिए।

अर्का चर्चित गायक बिपुल क्षेत्रीले अल्लारे जीवन लगायतका लोकप्रिय गीतहरु गाउँदा दर्शकहरु रोमान्चित बनेका देखिन्थे।

अल्डरशटबाट आफ्ना साथीहरुसंग कार्यक्रम हेर्न आएकी २४ वर्षीय पुजा गुरुङले आफुले सानो छँदा देखि सुन्दै आएका गायकहरुलाई स्टेजमा प्रत्यक्ष देख्‍न र सुन्न पाउँदा निकै खुसी भएको बताइन्।

अवसर र गौरव

लण्डनलाई कार्यथलो बनाएका युवा गायक तथा संगीतकार गङ्गा थापाले वेम्बली एरेनाजस्तो प्रतिष्ठित मन्चबाट कार्यक्रम प्रस्तुत गर्न पाउनु नेपाली कलाकारहरुकालागि एउटा ठूलो अवसर र गौरवको विषय भएको बताए।

लण्डनमा साथीहरुसंग नाम्लो व्याण्ड स्थापना गरेका थापाले नेपाली दर्शक तथा स्रोताले नेपाली संगीत र संस्कृतिलाई सँधै माया गर्दै आएको बताए।

"अब हामीले हाम्रो गीत, संगीतलाई पनि गैरनेपाली दर्शकहरुसम्म पुराउने प्रयास गर्नुपर्दछ," उनले भने।

झण्डै साढे तीन घन्टासम्म चलेको सो सांगीतिक कार्यक्रमका एकजना आयोजक पर्चा प्रोडक्शनका समिर गुरुङले खासगरी युवा दर्शकहरुको उत्साह र साथबाट आफुहरु निकै उत्साहित भएको बताए।

यसअघि नेपथ्य व्याण्ड झण्डै चार वर्ष अघि वेम्बली एरेनामा साँगीतिक प्रस्तुति गर्ने पहिलो नेपाली साँगीतिक समूह बनेको थियो।

ब्रिटेनमा बसोबास गर्ने नेपाली समुदायको संख्या बढ्दै गएसंगै दशैं, तिहार, नेपाली नयाँ वर्ष आदि अवसरमा नेपालबाट कलाकारहरुलाई निम्त्याएर कार्यक्रम गर्ने प्रचलन पनि बढेको छ।

आयोजन गर्न निकै समय र श्रम लाग्ने यस्ता कार्यक्रमहरुले नेपाली गीत, संगीत र कलाकारहरुलाई प्रवासी नेपाली समुदायसंग जोडन योगदान पुराइरहेको जानकारहरु बताउँछन्।