लडाकु विमान हतपती किन खस्दैनन्?

  • 20 जुन 2017
लडाकु विमान तस्वीर कपीराइट Getty Images

आकाशमा मानवसहितको अमेरिकी लडाकु विमानले एउटा सिरियाली लडाकु विमान यसै हप्ता खसालिदिएको घटना सन् १९९९ यताकै पहिलो भएको ठानिएको छ।

हलिवूडका चलचित्रहरुमा आकाशमा यस्ता लडाइँ प्रायजसो देखाइने गरेपनि आधुनिक युद्धकलाबाट त्यो लगभग हराइसकेको छ।

२० औं शताब्दीमा आकाशमा त्यस्ता विमानहरु खसाल्ने पाइलटहरुलाई 'एस' अर्थात अव्बल भनिन्थ्यो।

कम्तीमा पाँचवटा विमान खसाल्ने चालकलाई अमेरिकाले 'एस' ठान्दछ तर अहिलेसम्म सेवामा रहेका कुनै पनि पाइलटले उक्त उपाधि पाएका छैनन्।

खाडी युद्धबाट के पाठ सिकियो?

सन् २०१५ मा सेन्टर फर स्ट्राटेजिक एन्ड बजेटरी एसेसमन्टस (सीएसबीए) ले प्रकाशित गरेको एउटा रिपोर्ट अनुसार सन् १९९० को दशकयता जम्मा ५९ वटा विमान खसालिएका छन्।

त्यसमध्ये अधिकांश पहिलो खाडी युद्धमा खसालिएका थिए।

सन् २०१५ को अन्यतिर सिरियासँगको सीमा नाकामा विरलै हुने द्वन्द्वका क्रममा टर्कीले सु-२४ नाम गरेको एउटा रुसी विमान खसालिदिएपछि त्यसले कूटनीतिक तनाव निम्त्यायो।

तस्वीर कपीराइट EPA/HABERTURK TV CHANNEL

ब्रिटेनको रोयल युनाइटेड सर्भिसेजमा लडाकु विमानसम्बन्धमा अनुसन्धान गरिरहेका जस्टिन ब्रोंक भन्छन्, "आकाशमा भिडन्त हुने युग लगभग अन्त्य भइसकेको छ।"

उनी थप्छन्, "पहिलो खाडी युद्धमा अमेरिकी हवाई फौज र जल सेनाले क्षतिको तुलनामा एकदमै असमान अनुपातमा उपलब्धि हात पारे। त्यसपछि अमेरिका वा उसका साझेदार मुलुकको आक्रमणमा पर्ने पक्षहरुले आफ्नो हवाई क्षेत्रको रक्षार्थ विमान पठाउने कुरा लगभग रोके किनभने त्यसको परिणाम के हुन्छ भनेर उनीहरुलाई थाहा थियो।"

विमान खसालिएपछि रुसी चेतावनी

सन् १९९१ को शुरुतिरको उक्त युद्धको क्रममा गठबन्धन फौजसँगको भिडन्तमा इराकले ३३ वटा विमान गुमाउनुपर्यो।

तस्वीर कपीराइट Getty Images

सीएसबीएको तथ्यांक अनुसार इराकले गठबन्धन फौजको एउटा मात्रै एफ-१८ विमान खसाल्न सक्यो।

त्यो घटनाले धेरै मुलुकहरुलाई अमेरिका वा उसका साझेदार मुलुकहरुसँग आकाशमा भिडन्त गर्न नहुने पाठ सिकायो।

ब्रोंक भन्छन्, "पहिलो खाडी युद्धको अन्त्यतिर धेरै इराकी पाइलटहरु निश्चित क्षतिबाट बच्नका लागि आफ्ना विमानहरु इरानतर्फ लगे। बर्बर इराक-इरान युद्ध लगत्तैको यो सहज निर्णय थिएन।"

दोस्रो खाडी युद्धका बेला सद्दाम हुसैनले "लडाइँमा पठाउनुभन्दा बाँकी रहेका आफ्ना अधिकांश लडाकु विमानलाई जमिनमुनि राख्न लगाएका" थिए।

र, सन् २०११ मा लिबियाका तत्कालीन शासक मुआम्मर गद्दाफीविरुद्धको विद्रोहमा उत्तर एट्लान्टिक सन्धि संगठन नेटोले हस्तक्षेप गर्दा प्रतिरक्षामा त्यहाँको हवाई फौजले केही गरेन।

किन अमेरिका यति हावी छ?

प्रथम विश्वयुद्धका बेला आकाशमा शत्रुका विमान खसाल्नका निम्ति विमानमाथि दृष्टि राखिन्थ्यो र त्यसलाई पछ्याएर मशिन गनबाट तुलनात्मक रुपमा कम गतिमा उड्ने पंखा भएका विमानलाई निशाना बनाउने गरिन्थ्यो।

प्रविधिमा भएका विकासका बीच लगभग आधा शताब्दीसम्म आकाशमा गरिने लडाइँको यो आधारभूत सिद्धान्त जारी रह्यो।

तस्वीर कपीराइट US AIR FORCE

तर वर्तमान युगमा मानिसका आँखाको स्थान प्रविधिले छिट्टै लिइसकेको छ।

सीएसबीएको तथ्यांक अनुसार सन् १९६५ देखि १९६९ सम्ममा आकाशबाट विमान खसाल्ने कार्यमा मशीन गनको ६५ प्रतिशत योगदान रह्यो।

तर सन् १९९० देखि २००२ सम्ममा सो कार्यमा मशीन गनको योगदान पाँच प्रतिशतमा सीमित हुन पुग्यो।

विमान खसाल्ने कार्यमा कुनै न कुनै किसिमले क्षेप्यास्त्रको प्रयोग गरियो।

ब्रोंक भन्छन्, "वर्तमान युगमा आकाशमा गरिने लडाइँको नतिजा स्थितिको जानकारी रेडार र अन्य सेन्सरको माध्यमबाट अनि क्षेप्यास्त्र प्रविधिमा निर्भर गर्दछ। अचेल आकाशबाट विमान खसाल्ने सबै कुरा लगभग एकतर्फी छन्।"

पछिल्लो समयमा शत्रुका जुन विमान खसालिए, ती यति टाढा थिए कि तिनलाई मान्छेको आँखाबाट हेर्न सम्भव थिएन।

यसको अर्थ हो पाइलटका कौशलमाथि प्रविधि हावी भइसकेको छ।