कंगोमा 'हजारौं' को मृत्यु: राष्ट्र संघ

  • 20 जुन 2017
कंगोमा हिंसा तस्वीर कपीराइट Getty Images

प्रजातान्त्रिक गणतन्त्र कंगोमा जातीयता प्रेरित हिंसाका कारण गत तीन महिनामा कम्तीमा दुईहजार जनाको ज्यान गएको संयुक्त राष्ट्र संघले जनाएको छ।

बीबीसीसंग कुरा गर्दै संयुक्त राष्ट्र संघको मानव ‌अधिकार मामिला प्रमुख जेइद राअद अल-हुसेनले भने, " कंगोको मध्यवर्ती कासाई प्रान्तमा अनुसन्धानकर्ताहरुले ४२ वटा सामूहिक चिहानहरु फेला पारेका छन्।"

ति राष्ट्रसंघीय अधिकारीका अनुसार ति अत्याचारहरु सुरक्षा सैन्य र सरकार समर्थित एउटा मिलिसियाले गरेका थिए।

प्रमाण

संयुक्त राष्ट्र संघका मानवअधिकार मामिला प्रमुख जेयद राअद अल-हुसेनले भनेका छन् - ति आमचिहानहरु मानिसहरुलाई गोली हानिएको, आगो लगाइएको वा काटेर मारिएको क्रुर घटनाका प्रमाणहरु छन्।

राष्ट्रसंघले कंगोली अधिकारीहरुमाथि हेलचेक्र्याईं गरेको आरोप लगाएको छ।

विपक्षी कामुइना न्सापु समुदायविरुद्ध लड्न सरकार समर्थित बाना मुरा नामको नयां मिलिसिया गठन गरिएको बताउंदै राष्ट्रसंघले दुवै पक्षबाट अत्याचारहरु भएका पनि जनाएको छ।

त्यसअघि क्याथोलिक चर्चले सार्वजनिक गरेको एउटा विवरणमा गत नौ महिनामा कंगोको कासाइ प्रान्तमा मारिनेहरुको संख्या तीनहजार तीनसय रहेको जनाइएको थियो।

चर्च सुत्रहरुलाई उल्लेख गर्दै रोएटर्स समाचार एजेन्सीले त्यस्तो समाचार दिएको थियो।

सेना र एउटा विद्रोही समूहबीचको लडाईंका क्रममा ति मानिसहरुको ज्यान गएको बताइएको छ तर हिंसाका क्रममा गैरसैनिकहरु पनि मारिएका छन्।

चर्चका अनुसार २० वटा गाउंहरु पूर्णतया नष्ट भएका छन् र ति मध्ये आधा सरकारी सेनाको आक्रमणको शिकार भएका हुन्।

मतदान

संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदमा कंगोको कासाइ प्रान्तमा भएको हिंसा पछि त्यसबारे उटा स्वतन्त्र अनुसन्धान हुनु पर्छ की पर्दैन भन्ने विषयमा यसै हप्ता मतदान हुंदैछ।

कंगोका अधिकारीहरुले आफूहरुले त्यस्तो प्रकृया बहिष्कार गर्ने बताएका छन्।

गत बर्ष मात्रै सो क्षेत्रबाट दश लाख भन्दा बढी मानिसहरु विस्थापित भएका छन्।

राहत कार्यकर्ताहरु भन्छन् स्थलमा मानवीय सहायता प्रतिक्रिया हालसम्म पनि अपर्याप्त नै रहंदै आएको छ।

कुनै बेला शान्त रहेको कासाइ प्रान्तमा गत अगष्ट महिनामा सुरक्षा सैन्यसंगको भिडन्तमा एकजना स्थानीय नेताको मृत्यु भएपछि हिंसा चर्किएको हो।