महत्वाकांक्षी चिनियाँ परियोजनाबारे छलफल

  • 20 जुन 2017

नेपाल-चीन परामर्श संयन्त्रको काठमाण्डूमा बसेको बैठकले चीनले अघि सारेको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभबारे विशेष छलफल भएको अधिकारीहरुले जनाएका छन्।

सो छलफलको आधारमा दुबै पक्षका उच्चस्तरीय निकायको परामर्शमा ठोस प्रस्ताव तयार गरिने परराष्ट्र मन्त्रालयको भनाइ छ।

परराष्ट्र मन्त्रालय

चीनले पर्यटन विस्तारका विषयमा पनि चासो देखाएको बताइएको छ।

चार वर्ष पछि नेपालले आयोजना गरेको नेपाल चीन परामर्श संयन्त्रको ११औं बैठकमा नेपालले हालै हस्ताक्षर गरेको चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभका बारेमा छलफल भएको बताइएको छ।

समिक्षा

साथै केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसंग गरेको पारवहन तथा यातायात लगायतका सम्झौता बारे समीक्षा भएको बैठकमा नेपालको नेतृत्व गरेका परराष्ट्र सचिव शंकर दास बैरागीले बताए।

उनले भने, " विगतमा सम्पन्न भएका सम्झौता र सहमति कार्यान्वयन गर्ने र हालै नेपालले हस्ताक्षर गरेको बेल्ट एण्ड रोड इनिसिएटिभको सम्झौता भएको ढाँचा अन्तर्गत ती विषयलाई कसरी कार्यान्वयनमा जाने भन्ने विषयमा छलफल भएको थियो। यसको आधारमा सम्बन्धित निकायसंग बसेर ठोस प्रस्ताव बनाएर फेरि अगाडी बढाउनु पर्छ।"

सिंहदरवारमा मंगलबार बिहान करिब साढे दुई घण्टा चलेको बैठकमा चिनको नेतृत्व त्यहाँको विदेश मन्त्रालयका सहायक विदेशमन्त्री क्वाङ् स्वन युले गरेका थिए।

सम्बन्ध विस्तार

सचिव बैरागीका अनुसार छलफल मूलत: दुई मुलुकबीचको राजनीतिक र व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा केन्द्रित रहेको थियो।

काठमाण्डू र चीनका प्रमुख शहरहरुबीच सिधा हवाइ सम्पर्क कायम गर्ने विषय पनि बैठकमा उठेको थियो।

साथै दुई छिमेकी राष्ट्रबीच पर्यटन विस्तार गर्ने बारे चीनले विशेष चासो देखाएको परराष्ट्र सचिव बैरागीले बताए।

उनले भने, "यसपटक छलफलमा पर्यटनको क्षेत्रमा सकारात्मक र महत्वपूर्ण छलफल भएको छ खासगरी नेपालको पर्यटन विकासमा चीनबाट हुनसक्ने सहयोग, चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन गर्न पर्ने प्रयासका बारेमा कुराकानी भएको छ।"

लामो समयसम्म बस्न नसकेको बैठक चार वर्ष पछि सम्पन्न हुनुलाई पनि उपलब्धिको रुपमा हेर्नु पर्ने कतिपय जानकारहरु बताउँछन्।

तर दुई देशबीच भएका सम्झौता र सम्बन्ध विस्तार जस्ता गहन विषयमा अरु धेरै गृहकार्य गर्नुपर्ने उनीहरुको भनाइ छ।