‘जनताको दबाबले आन्दोलन छाडी चुनावमा’

  • 20 जुन 2017
राजपा नेता
Image caption आफ्ना माग पुरा नभएको भन्दै राजपा नेपालले आन्दोलन घोषणा गरेको छ

आफ्नो दल राष्ट्रिय जनता पार्टी नेपाल चुनावविरुद्ध उत्रिए पनि जनताको आदेश मानेर उम्मेद्वारी दिएको उक्त दलका केही नेता/कार्यकर्ताले बताएका छन्।

पार्टी निर्णय विपरीत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ता निर्वाचनमा होमिएपछि रुपन्देही र कपिलवस्तुमा चुनावको वातावरण अन्य ठाउँको भन्दा फरक देखिएको छ।

दोश्रो चरणको चुनावमा वाधा पुर्याउने गरी उक्त दलले आन्दोलन घोषणा गरेको छ।

तर उसकै कार्यकर्ता ती जिल्लामा आन्दोलन छाडेर चुनाव प्रचारमा जुटेका छन्।

रुपन्देहीको मर्चवारी गाँउपालिकाको निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत संजीव पोखरेलले अवरोध गर्ने दलकै कार्यकर्ता चुनावमा आएपछि सहज अनुभव गरिरहेका छन्।

रौनक

उनले भने, "उत्साह र रौनक बढेको छ। आनन्द र ढुक्क भएको छ। हाम्रो कार्यालयमा भिडभाड पनि बढेको छ।"

राजपाका एकजना नेता सर्वेन्द्रनाथ शुक्लको राम्रो पकड रहेको मानिने मर्चवारी गाउँपालिकामा १४ गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा राजपाका जिल्ला सदस्य राजकुमार सिंहले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

कारणबारे उनले भने, "यो कुर्सी लडाई होइन। जनताको भावना अनुसार चुनावमा उठेको हुँ। तर हाम्रो लडाईँ समाप्त भइरहेको छैन।"

त्यही क्षेत्रमा पर्ने कोटहीमाई र सम्मरीमाई गाँउपालिकामा पनि राजपाका कार्यकर्ताले सबै पदहरुमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

उम्मेदवारी

तराई केन्द्रित दलकै प्रभाव क्षेत्र मानिने लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा राजपाका केन्द्रीय सदस्य मनमोहन चौधरीले उम्मेदवारी दिएका छन्।

उनले भने, "घरमा सबै मानिस आएर मलाई उठ्न भनेका थिए। उनीहरुले राम्रो उम्मेद्वार नै छैन, कि पार्टी हेर्नुस कि हामीलाई हेर्नुस भने। त्यसैले मैले उम्मेदवारी दिएँ।"

स्वतन्त्र उम्मेदवारी दिएका चौधरीले अहिलेसम्म पार्टीबाट कुनै दबाब नआएको बताए।

उनले भने, "के गर्ने/नगर्ने पार्टीको विचार हो। जनताको दबाबमा म उठेको हुँ। मलाई लाग्छ यो पनि पार्टीकै काम हो। जीतेपछि जनताकै लागि हो काम गर्ने र त्यो पनि पार्टीकै काम हो।"

राजपाका कार्यकर्ताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका कपिलवस्तु र रुपन्देहीका स्थानीय तह तराई केन्द्रीत दलको राम्रो पकड क्षेत्र मानिन्छन्।