‘हतियार संकलन गर्ने क्रम सुरु’

  • 22 जुन 2017
प्रहरी तस्वीर कपीराइट .
Image caption पहिलो चरणको चुनावमा अपेक्षाभन्दा अत्यन्त न्यून संख्यामा हतियार संकलन भएकोप्रति निर्वाचन आयोगले चिन्ता व्यक्त गरेको छ।

सुरक्षाको दृष्टिले संवेदनशील मानिएका स्थानहरुमा हुन गइरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचनअघि अनुमतिप्राप्त र अवैध हतियारको संकलन गर्ने काम थालिएको गृह मन्त्रालयले जनाएको छ।

निर्वाचन आयोगले दोस्रो चरणको चुनावअघि सर्वसाधारणसँग रहेका हात-हतियार संकलन गरी आपराधिक पृष्ठभूमिका व्यक्तिको निगरानीमा थप कडिकडाउ गर्न आग्रह गरेपछि गृह मन्त्रालयले आवश्यक कदम चालेको अधिकारीहरुले बताएका छ्न्।

निर्वाचन आयोगले पहिलो चरणमा अपेक्षाभन्दा अत्यन्त न्यून संख्यामा हतियार संकलन भएकोप्रति सरकारको विशेष ध्यानाकर्षण गराएको बताइएको छ।

गृह मन्त्रालयले भने चुनावी सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुन आग्रह गरेको छ।

पहिलो चरणभन्दा दोस्रो चरणको निर्वाचन बढी संवेदनशील स्थानहरुमा हुन गइरहेकोले सुरक्षा व्यवस्थामा थप कडाइ गर्न आयोगले गृह मन्त्रालयलाई अनुरोध गरेको हो।

गृह मन्त्रालयका अनुसार देशभर झण्डै ३५ हजार हतियार दर्ता छन्।

ती मध्ये आधाभन्दा बढी हतियार काठमाण्डूमा दर्ता भएको बताइन्छ।

तर प्रथम चरणको निर्वाचनको पूर्वसन्ध्यामा केही सयको संख्यामा मात्र हतियार संकलन भएको थियो।

सिमाना

दोस्रो चरण अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ मध्येका केही स्थानहरु खुला सिमाना र आपराधिक समूहका कारण बढी संवेदनशील भएकोले हतियार संकलन कार्यमा कडाइ गरिनुपर्ने निर्वाचन आयोगको भनाइ छ।

त्यस्ता हतियारबारे चिन्ता व्यक्त गर्दै निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले भने, "पहिलो चरणको निर्वाचनका बेला अलि बढी हतियार संकलन होला जस्तो लागेको थियो।"

उनले भने, "अब दोस्रो चरणमा कतिपय स्थानमा खुला सिमाना रहेकोले अलि बढी कडाइ गर्ने र अनुमतिप्राप्त हतियार संकलन गर्ने, अवैध हतियार नियन्त्रणमा लिने र सुरक्षा खतरा हुनसक्ने व्यक्तिलाई निगरानीमा राख्न हामीले गृह मन्त्रालयलाई निर्देशन दिएका छौं।"

निर्वाचन सुरक्षालाई केन्द्रित गर्दै सर्वसाधारणलाई हतियार बुझाउन स्थानीय प्रशासनले सूचित गरेपनि न्यून संख्यामा हतियार संकलन हुनुमा केही प्राविधिक कारण रहेको अधिकारीहरु बताउँछन्।

'निर्देशन'

सूचना प्रणालीलाई चुस्त नबनाउनु, हराएका वा नष्ट भएका हतियार अध्यावधिक नगर्नु, दर्ता गरिने स्थान र प्रयोग गरिने क्षेत्रमा समन्वयको अभाव लगायतका कारणले कम हतियार संकलन भएको बताएको छ।

तर गृह मन्त्री जनार्दन शर्माले निर्वाचन हुन गइरहेका प्रदेशहरुमा हतियार संकलन कार्य तीव्र रुपमा भईरहेको बताए।

उनले भने, "निर्वाचन हुन गइरहेका सबै प्रदेशमा हतियारहरु जिल्ला प्रशासनको निर्देशनमा केन्द्रित भइरहेका छन् र दर्ता भएका सबै हतियारहरु संकलित हुने गरी प्रस्ट निर्देशन दिइएको छ।"

ग्रामिण क्षेत्रमा झण्डै सबैजसो हतियार संकलन हुने गरेको भएपनि शहरी ईलाकावाट अत्यन्त कम हतियार संकलन हुने गरेको अधिकारीहरुको भनाइ छ।

हतियार नबुझाउँदा तीनको दुरुपयोग हुनसक्ने चिन्ता व्यक्त गर्दै निर्वाचन आयोगका अधिकारीहरुले आपराधिक समूह वा व्यक्तिले खुला सिमानाको दुरुपयोग गर्नसक्ने खतरा कायमै रहेको बताएका छन्।