पतञ्जलीका गुणस्तरहीन औषधि 'फिर्ता'

  • 22 जुन 2017

पतञ्जली योगपीठ भारत सहित कैयौं कम्पनीले उत्पादन गरेका औषधीहरुमा सीमा भन्दा बढी जीवाणु पाइएको भन्दै औषधि व्यवस्था विभागले ती औषधि फिर्ता लिन सूचना जारी गरेको छ।

रामदेव तस्वीर कपीराइट Ramdev
Image caption योगगुरु रामदेवको पतञ्जली योगपीठले उत्पादन गरेको केही औषधि गुणस्तरहीन भेटिएको बताइएको छ

विभागले सूचना जारी गरेपछि आफुहरुले औषधिहरु फिर्ता लिने प्रक्रिया शुरु गरिसकेको पतजञ्लीका काठमाण्डूस्थित प्रमुख आयातकर्ताले जनाए।

तोकेको सीमा भन्दा बढी मात्रामा जीवाणु पाइएमा औषधिको गुणस्तर कम हुने र संख्या असाध्यै धेरै भएमा आम मानिसको स्वास्थ्यमाथि नै खेलबाड हुने भएकाले फिर्ता गर्न सूचना जारी गर्नुपरेको अधिकारीहरुले बताएका छन्।

पतञ्जलीको अमला चुर्ण, दिव्य ग्याशर चुर्ण, बाकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चुर्ण, अदिव्य चुर्णमा जीवाणुको संख्या सीमा बाहिर पाइएको सार्वजनिक सूचनामा उल्लेख छ।

बजार अनुगमन

सबै औषधिहरु दिव्य फार्मेसी उत्तराखण्ड भारतमा बनेका हुन्।

उक्त सूचनामा ब्याङलोरस्थित माइक्रो ल्याब लिमिटेडले उत्पादन गरेको ब्याक्टोक्ल्याभ औषधी पनि आइडेन्टीफिकेशन टेष्ट फेल भएको भन्दै फिर्ता लिन भनिएको छ।

औषधि व्यवस्था विभागले नियमित रुपमा बजार अनुगमन र -यान्डम स्याम्पलिङ गरेर प्रयोगशाला परीक्षण गर्ने गरेको विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले बताए।

उनले भने, "भारतीय कम्पनी डाबर र कतिपय नेपाली कम्पनीको पनि समस्या देखिएपछि सार्वजनिक सूचना जारी गरेर ती उत्पादनहरु फिर्ता लिनुस् भन्ने गरेका छौं।"

निमित्त महानिर्देशक क्षेत्रीले एकपटक गुणस्तरहीन पाइएका त्यस्ता ‍औषधिहरुको भविष्यमा पनि अनुगमन गरिने बताए।

निगरानी

उनले भने, "अहिले समस्या देखिएका उत्पादनहरु भविष्यमा पनि हामी निगरानी गरिरहन्छौं।"

आयातकर्ताका तर्फबाट पतन्जली काठमाण्डूका सन्तोष बस्नेतले विभागको सूचनामा उल्लेख गरिएका सबै औषधिहरु फिर्ता लिन प्रक्रिया शुरु गरेको बताए।

उनले भने, "हामीले विभागको पत्र पाएपछि सबै विक्रेताहरुकहाँ छ भने औषधि फिर्ता गर्नु, नभए छैन भनेर कम्पनीको लेटर प्याडमा लेखेर पठाउनु भनेका छौं।"

औषधिको गुणस्तर परीक्षण गर्नु औषधि व्यवस्था विभागको एक प्रमुख दायित्व हो।

नक्कली र गुणस्तरहीन औषधिदेखि म्याद नाघेका औषधिको बेचविखन बारम्बार समाचार बन्ने गरेका छन्।

त्यसैले विभागले आम सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष सम्बन्ध राख्ने औषधिको अनुगमन र परीक्षण नियमित रुपमा कडाइका साथ गर्नुपर्ने अपेक्षा धेरैको रहने गरेको छ।