'इंग्ल्याण्डका ७ वटा भवनमा आगोको जोखिम'

  • 22 जुन 2017
लण्डन तस्वीर कपीराइट Reuters

ब्रिटेनमा हालै उनासी जनाको ज्यान जाने गरी आगलागी भएको लण्डनस्थित बहुतल्ले भवनको बाहिरी भागमा प्रयोग भएको जस्तै सामग्री अन्य झण्डै छसय वटा भवनहरुमा फेला परेको छ।

प्रधानमन्त्री टरिजा मे का प्रवक्ताका अनुसार हालसम्म गरिएको परीक्षणमा सातवटा बहुतल्ले भवनको बाहिरी भागमा प्रयोग भएको सामग्री प्रज्वलनशील रहेको फेला परेको छ।

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै अरु परीक्षणहरु पनि तीव्र गतिमा भैरहेको र त्यस्ता भवनहरुका वासिन्दालाई ती परीक्षणहरुको नतिजाका बारे जानकारी दिइएको बताएकी छिन्।

इंगल्याण्ड भरीका छसय वटा बहुतल्ले आवासीय भवनहरुको बाहिरी भागमा राखिएको क्ल्याडिंग भनिने तह आगोबाट सुरक्षित छ की छैन भनेर परीक्षणहरू भैरहेका छन्।

प्रज्वलनशील

हालसम्म ती मध्ये सातवटा भवनहरुमा रहेको त्यस्तो क्ल्याडिंग प्रज्वलनशील रहेको फेला परेको छ।

अरु परीक्षणको नतिजा केही दिनभित्रै सार्वजनिक हुने अनुमान गरिएको छ।

ब्रिटेनमा टावर ब्लक भनिने झण्डै चार हजार वटा बहुतल्ले आवासीय भवनहरु रहेका छन्।

गत हप्ता उनासी जनाको ज्यान जाने गरी पश्चिम लण्डनको ग्रेनफेल टावर नामक बहुतल्ले भवनमा आगलागी हुंदा तीव्र गतिमा आगो फैलनुमा सो भवनको बाहिरी भागमा प्रयोग भएको सामग्री - क्ल्याडिंग- नै जिम्मेवार रहेको ठानिएको छ।

प्रधानमन्त्री टरिजा मे ले ती फ्ल्याटहरुका लागि जिम्मेवार काउन्सील भनिने सबै स्थानीय निकायलाई जानकारी गराइसकिएको बताएकी छिन्।

तस्वीर कपीराइट AFP

घोषणा

उक्त ग्रेनफेल टावर अवस्थित केन्सींगटन एण्ड चेल्सी काउन्सीलका प्रमुखले सो आगलागीको घटनापछि स्थानीय अधिकारीहरुले जनाएको प्रतिक्रियाको आलोचनाका माझ राजनीमा दिए लगत्तै प्रधानमन्त्रीको त्यस्तो घोषणा आएको हो।

देशको प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री मे ले त्यस्तो ठूलो स्तरको आगलागीको घटनाप्रति उपयुक्त प्रतिक्रिया जनाउन सो काउन्सील सक्षम नभएको र त्यहांका प्रमुख कार्यकारी निकोलस होल्गेटले राजीनामा दिनु उचित नै रहेको बताइन्।

बहुतल्ले आवासीय भवनहरुलाई तातो, चिसो तथा चर्को ध्वनिबाट जोगाउन र ती भवनहरुको बाहिरी स्वरुप सुन्दर देखाउन क्ल्याडिंग भनिने विशेष प्रकारको सामाग्रीको तहले छोप्ने गरिन्छ।

हाल दिनको एकसयवटाका दरले त्यस्ता अग्ला भवनहरुको क्ल्याडिंगको परीक्षण भैरहेको छ।

प्रधानमन्त्रीका प्रवक्ताले त्यस्ता भवनहरुमा बस्ने कसैलाई पनि असुरक्षित आवासमा रहन नदिइने बताए।