ब्रिटेनमा सयौं फ्ल्याट खाली गराउन शुरु

  • 24 जुन 2017
सार्ने तस्वीर कपीराइट PA

ब्रिटेनमा ८०० परिवारलाई अग्ला भवनमा अग्नि सुरक्षाका कामहरु सम्पन्न नहुञ्जेल त्यहाँबाट सुरक्षित स्थानमा सार्न शुरु गरिएको छ।

उत्तरी लण्डनका पाँचवटा टावर ब्लकमा बसोबास गर्ने ती परिवारको स्थानान्तरणको निर्णय ग्रेनफेल टावरमा आगलागी भएको एक हप्तापछि आएको हो।

स्थानीय अधिकारीहरुले अनुगमनका क्रममा ती भवनको बाहिरी भागमा राखिएको क्ल्याडिंग भनिने तह आगो प्रतिरोधी नरहेको आशंका उत्पन्न भएको जनाएका थिए।

ती भवनमा भीषण आगलागीपछि ७९ जनाले ज्यान गुमाएको ग्रेनफेल टावरकै जस्तो क्ल्याडिंग सामाग्री प्रयोग गरिएको पाइएको थियो।

कार्यान्वयन

उक्त सुधारको कदम कार्यान्वयन गर्न महिनौं लाग्न सक्ने ठानिएको छ।

करिब ४ हजार बासिन्दालाई अस्थायी आवासमा स्थानान्तरण गरिनेछ तर सूचना नै नदिइ अन्यन्त्र सार्न लागिएको भन्दै कैयौँ मानिसले चिन्ता जनाएका छन्।

उत्तरी लण्डनको क्याम्डन काउन्सिलमा रहेका टावर ब्लकहरुका ८०० भन्दा बढी परिवारलाई अन्यन्त्र सार्ने प्रकिया अघि बढाइएको हो।

उक्त काउन्सिलले पाँचवटा बहुतले भवनमा आपतकालीन अग्नि सुरक्षाका कामहरु गर्नुपर्ने उल्लेख गरेको छ र त्यहाँ बसोबासका लागि बुकिङ्ग गर्न पनि बन्द गरिएको उल्लेख गरेको छ।

क्याम्डन काउन्सिलले च्यालकट्स आवासीय क्षेत्रका पाँचवटा टावर ब्लकहरुका थर्मल क्ल्याडिंग हटाइने उल्लेख गरेको छ।

साथै त्यहाँ जडान गरिएका ग्यासका पाइपहरुलाई लिएर पनि चिन्ता व्यक्त गरिएको छ।

निष्कर्ष

शुरुमा एउटा मात्र भवनका बासिन्दालाई सार्ने बताइएपनि जाँचपछि सबैलाई अन्यत्र सार्नुपर्ने निष्कर्ष अधिकारीहरुले निकालेका थिए।

वारुण सेवाले त्यहाँ बसिरहेका मानिसको सुरक्षा ग्यारेण्टी गर्न नसक्ने बताएपछि शुक्रबार नै स्थानान्तरण शुरु गर्ने निर्णय गरिएको थियो।

तस्वीर कपीराइट Getty Images

केही बासिन्दाले समाचारमा उक्त निर्णय आइसकेपछि मात्रै आफूलाई सार्न लागिएको भनेर थाहा पाएको जनाएका छन्।

क्याम्डन काउन्सिलले होटलहरु बुक गरिरहेको बताएपनि केही मानिसले व्यायाम गर्ने स्थान जिममा रात बिताइरहेको बताएका छन्।

एकजना बासिन्दा मिशेल उर्कट भन्छिन्, "अवस्था केही डरलाग्दो नै छ, हामी कहाँ जाँदैछौँ मलाई थाहा छैन, हिजो मात्र हामीले काउन्सिलसँग बैठक गरेका थियौँ र उनीहरुले हामीलाई आश्वस्त पार्ने प्रयास गरेका थिए, हामी यी फ्ल्याटमा १० वर्षदेखि बसिरहेका थियौँ।"

क्याडम्न की नेतृ जोर्जिया गुल्डका अनुसार लण्डनको वारुण सेवाले काउन्सिलका प्राविधिक विज्ञहरुसँग मिलेर ती भवनहरुको अनुगमन गरेको थियो।