गैरराजनीतिक पृष्ठभूमिका उम्मेदवारलाई अवसर

  • 24 जुन 2017
मतदाता

झण्डै २० वर्षपछि भइरहेको स्थानीय तहको निर्वाचनका लागि झापामा दलहरुले राजनीतिमा भन्दा फरक क्षेत्रमा पहिचान बनाएका व्यक्तिलाई धेरै स्थानमा उम्मेदवार बनाएका छन्।

दलका नेताहरु भन्छन्, २० वर्षमा समय धेरै परिवर्तन भएकाले नयाँ अनुहार देखाउन जरुरी छ।

तर कतिपयले अनुभवी व्यक्तिभन्दा जसरी पनि चुनाव जित्ने मनसायले नयाँ अनुहारलाई उम्मेदवार बनाएको विश्लेषण गर्ने गरेका छन्।

नेकपा माओवादी केन्द्रले झापाका धेरै स्थानीय तहमा सक्रिय तथा पूर्णकालीन सदस्यभन्दा भिन्न व्यक्तिलाई उम्मेदवार बनाएको छ।

सन्तुलन

केही पूर्व शिक्षक छन् भने केही कानून व्यवसायी छन्।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पुरुषोत्तम चुडालका अनुसार जातीय तथा पेशागत सन्तुलन मिलाउनका लागि त्यसो गरिएको हो।

उनले भने, "स्थानीयस्तरमा लोकप्रिय मान्छेलाई जागिरबाट राजीनामा गर्न लगाएर भए पनि हामीले उम्मेदवार बनाएका हौँ।"

नेपाली कांग्रेसले पनि बिर्तामोड, मेचीनगर, अर्जुनधारा नगरपालिका लगायतमा राजनीतिमा भन्दा समाजमा भिन्न पहिचान बनाएका उम्मेदवार उठाएको छ।

केही व्यवसायी छन् भने केही अन्य संघ संस्थामा नेतृत्व गरेका व्यक्ति छन्।

नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाका अनुसार समय धेरै परिवर्तन भएकाले त्यही अनुसार नयाँ अनुहारलाई उम्मेदवार बनाइएको हो।

अनुभवी

तर नेकपा एमालेले प्रायः नगरपालिकामा प्रमुख पदका लागि पुराना उम्मेदवारलाई दोहोर्याएको छ।

उपप्रमुखमा भने नयाँ अनुहार छन्।

एमालेका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर १ का सांसद रविन कोइरालाले भने, "अनुभवी मान्छे बिना स्थानीय सरकार चल्न सक्दैन। त्यसैले हामीले पुराना र नयाँ दुईखाले उम्मेदवार बनाएका हौँ।"

नयाँ अनुहारलाई उम्मेदवार बनाउन एक हिसाबले राम्रो मानिए पनि पहिलेभन्दा बढी अधिकार दिइएको स्थानीय तहको यसपटकको चुनावमा भने दलहरुले जसरी पनि चुनाव जित्ने मनसायले भिन्न खाले उम्मेदवारलाई उठाएको मेची बहुमुखी क्याम्पसका राजनीतिशास्त्रका सह-प्राध्यापक भीम सुब्बाले तर्क गरे।

उनले भने, "राजनीतिमा अनुभव प्राप्त व्यक्तिलाई उम्मेदवार बनाउनुभन्दा पनि जुनसुकै हालतमा स्थानीय तहलाई जित्ने र आफ्नो कब्जामा पार्ने दलहरुको मनसाय देखियो।"

पहिलादेखि नै राजनीतिमा लागेका व्यक्तिलाई उम्मेदवार नबनाइँदा असन्तुष्टिका आवाजहरु पनि सुनिने गरेका छन्।