निगरानीले चिम्पाञ्जीको 'व्यवहार परिवर्तन'

  • 24 जुन 2017
चिम्पाञ्जी
Image caption नयाँ जन्मेका चिम्पाञ्जी भने आफ्ना वरिपरि रहेका अनुसन्धानकर्ताहरुसँग अभ्यस्त भएको बताइएको छ

युगाण्डाका चिम्पाञ्जीहरुले वैज्ञानिकहरुले उनीहरुमाथि राखेको निगरानीका कारण आफ्नो शिकार रणनीति परिवर्तन गरेको हुनसक्ने बताइएको छ।

ती जनावरहरुको अध्ययन र दस्तावेजीकरण गरिरहेका अनुसन्धानकर्ताहरुले दुई नजिकका चिम्पाञ्जी 'जाती'हरुका बिलकुल फरक शिकार खेल्ने बानी पत्ता लगाएका थिए।

'सोन्सो' भनिने चिम्पाञ्जीहरुले सानो समुहमा कोलोबस बाँदरहरु खोज्ने गरेको र 'वाइबीरा' समूहका चिम्पाञ्जीले एक्लाएक्लै र जे अगाडि पायो त्यही शिकार गर्ने गरेको पाइएको थियो।

पछिल्लो निष्कर्षले मानव उपस्थितिप्रति चिम्पाञ्जीहरु कति समवेदनशील भएका रहेछन् भन्ने देखाएको छ।

संरक्षण

यो अध्ययन प्लोस वान जर्नलमा प्रकाशित छ।

Image caption चिम्पाञ्जीको अध्ययनबाट मानिसको भाषा उत्पत्ति लगायतका विषय जान्न सकिने ठानिएको छ

यी जनावरहरुलाई वर्षौ पछ्याएर अध्ययन गरेका जीववैज्ञानिकहरुले आफ्नो कामले कोलोबस बाँदरहरु लखेटेर समात्ने सामुहिक रुपमा गरिँदै आएको शिकार प्रवृतिलाई बाधा पुर्याएको हुन सक्ने ठानेका छन्।

सेन्ट एन्ड्रुज विश्वाविद्यालय सम्बद्ध प्रमुख अनुसन्धानकर्ता डा. क्याथरिन होबेइटरले भनिन्, वाइबीरा समुहको बानीबेहोरा परिवर्तन भएर अवरसरवादी रणनीतिमा लागेको हुन सक्छ किनभने यी चिम्पाञ्जीहरु मानव वैज्ञानिकहरुको उपस्थितिप्रति अभ्यस्त हुन सकेका छैनन्।

बीबीसी न्यूजसँग युगाण्डाको बुडोङ्गो जंगलबाट कुराकानी गर्दै डा. होबेइटरले भनिन्- "सोन्सो र वाइबीरा चिम्पाञ्जीहरु एउटै भूगोलमा बस्छन् त्यसैले उनीहरुको खाद्य श्रोत र शिकार एउटै हुन् भन्ने ठान्छु।"

"अहिले उनीहरुबीच मुख्य फरक जंगलमा उनीहरुलाई पछ्याइरहेका मान्छेहरुसँग उनीहरु कति अभ्यस्त हुन सकेका छन् भन्ने हो।"

"सोन्सोका धेरैजसो बयस्कहरु हाम्रै अगाडि जन्मिएका हुन् त्यसैले उनीहरु हाम्रो उपस्थितिप्रति केही पनि तनाव लिएका देखिन्नन्। तर वाइबीरामा भने केही नवजातहरु हाम्रो उपस्थितिलाई सजिलै लिन थालेका छन् तर कोही ३०/४० वर्षका बयस्कहरु त्यति रत्तिएका छैनन्।"

सशंकित

अन्यत्रका जंगलमा चिम्पाञ्जीहरुसँगै बसेर अनुसन्धान भइरहेका ठाउँमा पनि त्यस्तै प्रवृत्ति देखा परेको डा. होबेइटरले बताइन्।

चिम्पाञ्जी समुह एउटा क्षेत्रमा बस्ने र त्यहाँ आउने नवप्रवेशीप्रति सशंकित हुने उनीहरुको प्रवृतिले पनि त्यसो भएको हुन सक्छ।

"त्यसैकारण हामी उनीहरुको जीवनको एक अंश बनेको स्विकार्न उनीहरुलाई कठीन भइरहेको छ।"

अध्ययनमा संलग्न डा. होबेइटरले भनिन्, 'जंगली चिम्पाञ्जीको लामो समय लगाएर गरिने अनुसन्धान उनीहरुको संरक्षणका लागि महत्वपूर्ण हुन सक्छ तर हाम्रो उपस्थितिले उनीहरुको व्यवहारलाई प्रभाव पार्न सक्छ भन्ने हामीले ख्याल राख्नुपर्छ।'

उनले भनिन्, "मानव भाषा र सामाजिक संरचनाको शुरुवात कसरी भएको हुनसक्छ भन्नेबारे खोजी गर्न- खतरामा परेका प्राइमेटहरु र उनीहरुको बसोबास रहेको जंगल संरक्षण गर्न- उनीहरुलाई जंगलमै बसेर प्रत्यक्ष निगरानी गर्दै चिम्पाञ्जीको व्यवहार रेकर्ड गर्नु सबभन्दा राम्रो उपाय रहँदै आएको थियो।"

"तर अब हामीले सोच्नुपरेको छ चिम्पाञ्जीहरुलाई पछ्याउँदै हामी उनीहरुको बसोबास क्षेत्रमा गइरहने कि नजाने?"

"हामीले क्यामरा माइक्रोफोन र ड्रोनको मद्दतबारे आश्चर्यजनक कुराहरु पत्ता लगाउन सक्ने स्थितिमा छौं र यसले राम्रो गुणस्तरको तथ्यांक निकै सजिलोसँग प्राप्त हुन सक्छ।"

"हाम्रो कामको उद्देश्य हाम्रो उपस्थितिले उनीहरुलाई कस्तो असर पर्छ भन्ने बुझ्नु पनि हा म्रो कामको उद्देश्य हो र त्यसलाई हामीले घटाउने प्रयत्न गर्नुपर्छ।"