राजनीतिक सिद्धान्त एकातिर, तालमेल अर्कैतिर

  • 24 जुन 2017
धरान

असार १४ को स्थानीय चुनावका लागि, प्रदेश नम्बर १ ,५ र ७ मा कतिपय स्थानमा बिल्कुल फरक राजनीतिक सिद्धान्त बोकेका दलहरुबीच र केन्द्रिय गठजोडको अवधारणा विपरीतका गठबन्धन बनेको देखिएको छ।

हालसालै जसकाविरुद्ध आन्दोलनमा उत्रिएको हो उसैसँग गठजोड बनाउनेदेखि लिएर केन्द्रमा सत्तापक्षीय र विपक्षी मोर्चामा रहेका दलबीच पनि स्थानीय तहमा गठवन्धन बनेको छ।

प्रदेश नम्बर १ मा प्रमुख प्रतिपक्ष एमालेलाई एक्ल्याउने भन्दै सत्तासीन पार्टी र पहिचान पक्षधर भनिएका पार्टीहरुले चुनावी गठवन्धन बनाएका छन्।

स्वार्थ

तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, मोरङ्, सुनसरी र भोजपुरका स्थानीय तहको चुनावमा संघीय समाजवादी फोरम, माओवादी केन्द्र र नेपाली कांग्रेस लगायतका अन्य दलहरुबीच तालमेल भएको छ।

संघीय समाजवादी फोरमका संगठन विभागका सचिव ध्यानबहादुर राई भन्छन्, "एमालेको जुन धारणा देखिन्छ त्यसको विपक्षमा गठबन्धन हुनु जायज हुन्छ भनेर हामीले गठबन्धन बनाएका हौं"।

पाँचथरको तुम्बेवा गाउँपालिकामा भने केन्द्रिय गठबन्धन विपरीत माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएको देखिन्छ।

नेकपा एमाले पाँचथर जिल्लाका कार्यवाहक अध्यक्ष तीवेन्द्रराज चापागाईँ भन्छन्, "उसको र हाम्रो लक्ष्य मिल्ने भएर हामीले मुक्तिका लागि, क्षेत्रीय विकासका लागि, पहिचानका लागि हेरेर हामीले तालमेल गरेका हौं"।

पकड

स्थानीय तहमा सबै पार्टी आफ्नो पकड जमाउन चाहन्छन्।

त्यसैले आफ्नो पार्टीको विचार सिद्धान्तलाई पन्छाएर भएपनि दलहरु तालमेलमा उत्रिएका देखिन्छन्।

नेपाली कांग्रेसका तेह्रथुम जिल्ला सभापति केदार ढुंगाना भन्छन्, "आर्थिक समृद्धिका लागि, यहाँको भावनात्मक एकताका लागि सबैलाई साथ लिएर हिँडन सकियो भने हाम्रा अपेक्षाहरु लक्षित वर्गमा पुर्याउन सकिन्छ भन्ने ठानेरनै हामीले यो तालमेल गरेका हौं"।

सांगठनिक रुपमा कमजोर र जनाधार कम भएको भनिएका पार्टीहरु चुनावपछि पनि आफ्नो साख जोगाउनकै लागि अन्य दलका उम्मेदवारलाई चुनावी तालमेलका नाममा सघाएको कतिपयको विश्लेषण छ।