‘आजदेखि मतदाता परिचयपत्र बाँडिंदै’

  • 25 जुन 2017
आयोग

आगामी बुधबार हुन लागेको दोस्रो चरणको स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले आजदेखि तीन दिनसम्म सबै मतदान केन्द्रबाट मतदाता परिचयपत्र बाँड्न शुरु गरिएको बताएको छ।

पहिलो चरणको निर्वाचनमा 'केही प्राविधिक कारणवश' कतिपय स्थानमा मतदाता परिचयपत्र बाँड्न नसकेकोले आलोचना भोगेको आयोगले यसपटक 'शत प्रतिशत' मतदाता परिचयपत्र वितरण गर्ने गरी तयारी गरेको अधिकारीले बताएका छन्।

दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३३४ वटै स्थानीय तहका ८,००० बढी मतदात केन्द्रबाट मतदाता परिचयपत्र बाँड्नका लागि आवश्यक जनशक्ति सम्पूर्ण सामाग्रीसहित उपस्थित भइसकेको आयोगले बताएको छ।

बढीमा दुई घण्टाको दुरी तय गरी हरेक मतदाता निर्वाचन केन्द्रमा पुग्न सक्ने गरी व्यवस्था गरिएको बताइएको छ।

अनुकूल

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदाता परिचयपत्र वितरण गर्ने कार्यतालिका भए पनि मतदान केन्द्रको परिस्थिति अनुकूल हुने गरी समय तय गरिएको आयोगका एकजना सहसचिव नवराज ढकालले बताए।

उनले भने, "स्थानीय अनुकूलता हेरेर हाम्रा कर्मचारी साथीहरुले मतदाता परिचयपत्र वितरणको काम शुरु गर्नुहुन्छ र उहाँहरु त्यही नै मुकाम भएर बस्ने भएकोले बेलुकासम्म पनि मतदाता परिचयपत्र लिनसक्ने अवस्था रहन्छ।"

निर्वाचन आयोगले २०७० सालको संविधानसभाको निर्वाचनताका मतदाता परिचयपत्र लिएका मतदातालाई पनि साबिककै विवरण रहेको नयाँ सुरक्षा प्रणालीसहितको परिचयपत्र लिन आग्रह गरेको छ।

आयोगका अनुसार विदेश गएका वा अन्य कारणले परिचयपत्र लिन नसक्नेले परिवारका अन्य सदस्यको सहयोगमा लिन सक्नेछन्।

कमजोरी

पहिलो चरणमा देखिएका मतदाता परिचयपत्र वितरणसम्बन्धी कमजोरी यसपटक नदोहोरिने गरी व्यवस्था मिलाइएको आयोगको दावी छ।

सहसचिव ढकालले भने, "भौगोलिक विकटताका कारण केही स्थानमा मतदान केन्द्र अलिकति टाढा भएको पनि अवस्था हुन सक्छ। त्यसबाहेक हामीले साह्रै ठूलो चुनौती आंकलन गरेका छैनौँ।"

हरेक मतदान केन्द्रबाट ७०० देखि १,००० वटा मतदाता परिचयपत्र वितरण गर्ने गरी व्यवस्था मिलाइएको आयोगले बताएको छ।

तीन दिनभित्र झण्डै ६४ लाख मतदाता परिचयपत्र वितरण गर्नुपर्ने आयोगको जिम्मेवारीलाई भने कतिपयले भूगोल, वर्षा लगायतका कारण देखाउँदै अत्यन्त कठिन भनेका छन्।