नेपालकै 'बलिया' खेलाडीको निधन

  • 25 जुन 2017
सुनिललाल जोशी

श्रीलंकाको राजधानी कोलम्बोमा सन् १९९१ मा सम्पन्न पाँचौ दक्षिण एसियाली खेलकूद प्रतियोगितामा सुनिललाल जोशी भारोत्तोलनका मुख्य खेलाडी थिए।

प्राय: कमजोर रहने नेपाली टोलीको व्यवस्थापन त्यो बेला पनि अछुतो थिएन। कोलम्बोमा अभ्यासका लागि एक हप्ताको समय राखेर नेपाली भारोत्तोलन टोली कोलम्बो प्रस्थान गर्यो।

हवाई जहाजको रुट थियो काठमान्डु-कोलकाता, कोलकाता-मद्रास र मद्रासबाट कोलम्बो।

मद्राससम्मको यात्रा त सहज भयो। तर भारतमा विमान चालकको हडतालका कारण मद्रासबाट कोलम्बो उड्ने हवाई टिकट भने टोलीले पाउन सकेन।

नेपाली टोली हरेक दिन मद्रास विमानस्थल पुग्थे। दिनभर पर्खिन्थे र फर्किन्थे। यो क्रम एक हप्तासम्म चल्यो। यो बीच न खेलाडीहरुले न राम्ररी खान पाए न अभ्यास गर्न नै।

थकित टोली एकहप्तापछि कोलम्बो पुग्दा प्रतियोगिता शुरु भइसकेको थियो। त्यहाँ हेभिवेट तौलका सुनिललाल जोशीले साढे २ किलो कम भार उचाल्दा स्वर्ण पदकबाट विमुख हुनुपर्यो।

यो घटना प्रमुख प्रशिक्षक तथा नेपाल भारोत्तोलन संघका महासचिव पार्थसारथी सेनगुप्ताका लागि संधै विझिरहने घटना हुन पुग्यो।

आइतवार राष्ट्रिय खेलकुद परिषद परिसरमा उनै सुनिललालको शवमा श्रद्धाञ्जली दिइरहँदा पार्थसारथीले त्यही घटना सम्झिरहेका थिए। उनले भने," समयमा पुग्न सकेको भए सुनिलको स्वर्ण पक्का थियो। त्यो घटना सम्झेर म संधै दुखी हुनेगर्छु। "

अवसान

त्यो भन्दा दुखको क्षण आइतवार विहान भयो।

५३ वर्षिय सुनिललाल जोशीको गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारको क्रममा निधन भएको हो।

अचानक छातीमा असजिलो महशुस भएपछि एक हप्ता अगाडि अस्पताल भर्ना भएका जोशीलाई हृदयाघात भएको अस्पतालले जनाएको थियो।

त्यहाँ उनको मुटुको भल्वको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको हो।

प्रशिक्षक पार्थसारथी सेनगुप्ताले, "भारोत्तोलन क्षेत्रमा उनी जति सफल र उनको जति योगदान दिने खेलाडी नेपालमा अब विरलै हुनेछन्।"

सर्वाधिक पदक

सन् १९८४ को पहिलो साग गेम्सदेखि १९९७ को सातौं साग गेम्ससम्म अनवरत सहभागिता जनाउने अनौठो कीर्तिमान जोशीको नाममा छ।

यस क्रममा उनले ५ रजत र ९ काश्य गरी कुल १४ पदक जिते, जुन नेपाली खेलाडीले साग गेम्समा जितेको सर्वाधिक पदक हो।

१२ वर्षे सकृय खेलाडी जीवनको यात्रामा उनले साग, एसियाली खेलकुद, एसियाली च्याम्पियनसिप र ओलिम्पिक खेलमा नेपालको प्रतिनिधित्व गरेका छन्।

सन् १९९६ मा अमेरिकामा भएको २६ औं ओलिम्पिक गेम्समा सहभागिता जनाएपछि उनले सन्यास लिए। त्यतिबेला उनले त्यहाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए।

तर त्यसबेला समावेश १ सय १० केजी भन्दा माथिको हेभिवेट तौल समूह अहिले अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघले हटाएकोले उक्त तौलको कीर्तिमान गणना नहुने बताइएको छ।

अभ्यासको क्रममा उनले कूल ३ सय केजीको भार उठाएको उनका प्रशिक्षक पार्थसारथी सम्झिन्छन्।

नेपाली खेलकुदमा उनलाई 'स्ट्रोङगेष्ट् म्यान्' अर्थात सबैभन्दा बलियो खेलाडीको रुपमा चिनिन्छ।

निरन्तरता

खेलाडी जीवनपछि जोशी फरक भूमिकामा भारोत्तोलनमा जोडिए। प्रशिक्षक, अन्तर्राष्ट्रिय निर्णायक र पदाधिकारीका रुपमा। ती सबै भूमिका उनले सफलतापूर्वक निर्वाह गर्दै आएको उनका सहकर्मी साथीहरु बताउँछन्।

जोशी भारोत्तोलनका मुख्य प्रशिक्षक, नेपाल भारोत्तोलन संघका उपाध्यक्ष तथा ओलिम्पियन खेलाडी संघका अध्यक्ष थिए।

भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जन भन्छन्, "यति लामो समय खेलकुदमा संगसंगै बिताइयो। तर उनको कसैसंग मनमुटाव झैँ-झगडा भएको कहिल्यै देखिन। खेलाडीको कमजोरी पत्ता लगाई त्यसमा सुधार गर्न लगाउने क्षमता उनमा गजबको थियो।"

पछिल्लो समय नेपालमा एसियाली स्तरको प्रतियोगिता आयोजना गर्ने अभियानमा जोशी लागिरहेका थिए।

भूकम्प गएका कारण नेपालबाट हटेको जुनियर विश्व च्याम्पियनसिप प्रतियोगिताको आयोजना निश्चित भएर पनि रद्द भएपछि उनले फेरि अन्तर्राष्ट्रिय प्रतियोगिता भित्र्याउने योजना काम गरिहेका थिए।

श्रद्धाञ्जली

आइतवार राखेप परिसरमा जोशीलाई श्रद्धाञ्जली दिन खेलाडी, प्रशिक्षक र पदाधिकारीको घुइँचो लागेको थियो। उनको पार्थिव शरिरमा भारोत्तोलन संघ, ओलिम्पिक र नेपालको झन्डा ओढाइएको थियो। जोशीका एक छोरा र श्रीमती छन्।