पाकिस्तानमा ट्यांकर आगलागी: १४० मारिए

  • 25 जुन 2017
जलेका सवारी साधन तस्वीर कपीराइट EPA
Image caption इन्धन ट्यांकरमा आगलागी हुँदा कार र मोटरसाइकल पनि जल्न पुगेका थिए

पाकिस्तानी शहर अहमेदपुर पूर्वमा एउटा इन्धन ट्यांकरमा आगलागी हुँदा कम्तीमा १४० जना मारिएको स्थानीय अधिकारीहरुले बताएका छन्।

पल्टिएको ट्यांकरबाट पोखिइरहेको इन्धन संकलन गर्न भीड जम्मा भएका बेला आगलागी भएको थियो।

दर्जनौंको अस्पतालमा उपचार भइरहेको छ।

सडकको तीखो घुम्तीमा मोड्न खोज्दा टायर पडकिएको जस्तो देखिन्छ, तर त्यसपछिको आगो भने चुरोटका कारण लागेको हुनसक्ने उद्दारकर्ताहरुले बीबीसीलाई बताए।

भ्रमण छोट्याउने

प्रधानमन्त्री नवाज शरिफले उनको लण्डन भ्रमण छोट्याउने निर्णय गरेको पाकिस्तानी सरकारी समाचार एजेन्सी एपीपीले जनाएको छ।

पाकिस्तानका सडकहरु असाध्यै खतराजन्य छन् र सवारी साधनको नियमित मर्मत संभार नगरिनु र जथाभावी सवारी गुडाउने प्रचलनले समस्या बढाएको बताइएको छ।

घाइतेहरुलाई अस्पताल पुर्याउन सैनिक हेलिकोप्टरहरु तैनाथ गरिएको सेनाका प्रवक्ता मेजर जनरल असीफ गफुरले ट्वीटमार्फत बताए।

पाकिस्तानी सञ्चार माध्यमले घटनास्थलका तस्वीरहरु छापेका छन् जहाँ जलेका मानिसहरु र सवारी साधन देखिन्छन्।

तस्वीर कपीराइट Reuters
Image caption कैयौं अग्नि पीडितलाई मुल्तानस्थित निशटार अस्पतालमा ल्याइएको थियो

पाकिस्तानी अखबार डनका अनुसार कम्तीमा ६ वटा कार र १२ वटा मोटरसाइकल पनि जलेका छन्।

असफल प्रयास

कति पीडितहरुको शरिर असाध्यै नराम्ररी जलेकाले तीनको सनाखत डीएनए परिक्षण पछि मात्र हुन सक्ने बताइएको छ।

प्रहरी श्रोतले एपीपीलाई बताए अनुसार ट्यांकरले २५ हजार लिटर इन्धन बोकेर कराँचीबाट लहोर जाँदै थियो।

उक्त ट्यांकर पञ्जाबको भवलपुर जिल्लास्थित अहमेदपुर पूर्व देखि करिब ८ किलोमीटर टाढा कच्ची पुल क्षेत्रमा पल्टिएको थियो।

सडक छेउको गाउँमा बस्ने मानिसहरु आफ्ना भाँडाकुँडा लिएर घटनास्थलमा पुगेको र कैयौंले अन्य गाउँमा बस्ने आफ्ना नातेदारलाई पनि फोन गरेर इन्धन संकलन गर्न बोलाएको श्रोतहरुले बताए।

महिला बालबालिका सहितका भीडलाई ट्राफिक प्रहरीले रोक्ने प्रयास असफल भएको थियो ।

अचानक ठूलो आगो शुरु भयो र ट्यांकर वरिपरि भएका सबै मानिसलाई जलायो।

'प्रारम्भिक रिपोर्टहरुमा भनिएको थियो कसैले चुरोट सल्काउँदा इन्धनमा आगो सल्कियो', रोयटर्स समाचार संस्थाले उद्दारकर्ता संस्थाका प्रवक्तालाई उदृत गर्दै भनेको थियो।

जलेकाहरुलाई उपचार गर्ने नजिकैका अस्पतालहरुमा ठाउँ नपुगेपछि पचास किलोमीटर टाढासम्म पुर्याइएको छ।