कोलम्बिया डुङ्गा दुर्घटनामा ६ को मृत्यु

  • 26 जुन 2017
कोलम्बियामा डुँगा डुब्यो तस्वीर कपीराइट Juan Quiroz

कोलम्बियाको उत्तर पश्चिम भेगस्थित एक जलाशयमा करिब १७० यात्रु सवार डुङ्गा डुबेको प्रहरीले बताएको छ।

उक्त घटनामा ६ जनाको ज्यान गएको छ भने १६ जना हराइरहेको प्रहरीले जनाएको छ।

यसअघि बताइएको मृतक संख्याभन्दा केही कम संख्या स्थानीय अधिकारीहरुले दिएका हुन्।

करिब १३३ जनाको उद्धार गरिएको छ। २० जनालाई अस्पताल पुर्याइएको छ।

उक्त डुङ्गा पर्यटकीय नगर ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा डुबेको हो।

सो डुङ्गामा पानी छिरेपछि छिटोछिटो डुब्न थालेको बताइएको छ।

तत्कालै अन्य डुङ्गाले पीडितहरुको उद्धारको कोशिश गरेका थिए।

स्थितिको जाँचबुझ गर्न हवाइ सेनाको हेलिकप्टर त्यहाँ पठाइएको छ।

घटनास्थल मेडेइन शहरबाट केही पर रहेको छ।

स्थानीय सरकारी अधिकारीहरुले स्थिति गम्भीर रहेको एएफपीलाई प्रतिक्रिया दिएका छन्।

डुङ्गा डुब्नुको कारणबारे थप विवरण प्राप्त भइसकेका छैनन्।