मतदान केन्द्र धमाधम बनाइँदै: आयोग

  • 26 जुन 2017
मतपेटिका

तीनवटा प्रदेशमा बुधबार हुन लागेको स्थानीय तहको चुनावकोनिम्ति मतदान केन्द्र बनाउने काम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।

दोश्रो चरणको चुनावबाट करिव ६५ लाख मतदाताले ३३४ वटा स्थानीय तहमा आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसर पाउने छन्।

सम्भावित हिंसात्मक गतिविधिलाई निस्तेज पार्ने गरी सुरक्षा प्रबन्ध कडा तुल्याइएको गृह मन्त्रालयले जनाएको छ।

प्रदेश नम्बर १, ५ र ७ मा हुन लागेको चुनावबाट एउटा महानगर, ७ वटा उपमहानगर, १११ वटा नगरपालिका र २१५ वटा गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित हुने छन्।

मतदानको निम्ति ८ हजारभन्दा बढी मतदाता केन्द्र निर्धारण गरिएका छन्।

तयार

सबै केन्द्रमा आवश्यक सम्पूर्ण निर्वाचन सामाग्री र मतदान अधिकृत सहितको जनशक्ति पुगिसकेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदातालाई भोट खसाल्न सक्दो सजिलो हुने गरी मतपेटिका राख्ने गरी मतदान केन्द्र बनाउने काम भइरहेको बताए।

उनले भने, "अहिले परिचय-पत्र वितरण भइरहेको छ। मतपेटिकामा मत खसाल्न आवश्यक पर्ने पूर्वतयारी जारी छ। मतदान केन्द्र निर्माण भइरहेको छ। र, १४ गतेको प्रतिक्षामा हाम्रा साथीहरु बसिरहनु भएको छ।"

स्थानीय चुनाव दुई दशकपछि भइरहेको छ।

स्थानीय सरकारको अवधारणा सहित व्यापक पुनर्संरचना गरिएकाले स्थानीय तहको चुनावप्रति सर्वसाधारणको चासो झन् बढेको बताइन्छ।

आशंका

तर केही राजनीतिक दलको बहिष्कारले कतिपय ठाउँमा खासगरी सुरक्षा व्यवस्थालाई लिएर आशंका पाइन्छ।

Image caption (फाइल फोटो)

केही ठाउँमा त बम राखिएका र विष्फोट समेत गराइएका खबर आएका छन्।

गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेका अनुसार हिंसात्मक घटना हुन नदिन सेना सहित १ लाख ६० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्।

उनी भन्छन्, "कहीँ कतै घटना भएमा त्यसलाई काबुमा लिन सक्ने गरी जनशक्ति परिचालन गरिएको छ। निर्वाचन विरोधी गतिविधि गर्नेलाई पनि आवश्यकता हेरेर नियन्त्रणमा लिएर कानुन अनुसार कारवाही गर्ने काम पनि हुन्छ।"

राष्ट्रिय जनता पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको घोषणा गरेका छन्।

उनीहरुले आफ्ना क्रियाकलाप शान्तिपूर्ण हुने बताएका छन्।

यस्तो परिस्थितिमा केही ठाउँमा बम राखिएका र विष्फोट गराइएका घटनामा संलग्न व्यक्ति र समूहबारे अधिकारीहरुले खुलाएका छैनन्।

तर वैधानिक राजनीतिक शक्ति वा अवैधानिक समूह कसैले पनि बुधबार हुने निर्वाचनमा ब्यवधान उत्पन्न गराउन सक्ने गरी गतिविधि गरेको वा गर्न सकेको देखिएको छैन।