यात्रा प्रतिबन्ध आंशिक कार्यान्वयन गर्न आदेश

  • 27 जुन 2017
अमेरिका तस्वीर कपीराइट Getty Images

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो विवादीत यात्रा प्रतिबन्ध सम्बन्धी आदेशलाई आंशिक कार्यान्वयन गर्न दिने सर्वोच्च अदालतको निर्णय राष्ट्रिय सुरक्षाको जित भएको बताएका छन्।

न्यायाधीशहरुले अन्तिम आदेश नअउँदासम्म उक्त प्रतिबन्ध अमेरिकामा रहेका व्यक्ति वा निकायसँग वास्तविक सम्बन्ध नरहेका यात्रुहरुमाथि लगाउन सकिने आदेश दिएका छन्।

यस मुद्दाको अन्तिम सुनवाइ आगामी अक्टोबर महिनामा हुने ठानिएको छ।

राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले मुसलमान बहुल ६ वटा देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने र अमेरिकी शरणार्थी कार्यक्रमलाई निलम्बनमा राख्ने प्रयास गरेको थियो।

विजय

तस्वीर कपीराइट Getty Images

तल्लो तहका अदालतहरुले उक्त आदेशलाई कार्यान्वयन नगर्न भनेपछि ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको थियो।

अमेरिकी विदेश मन्त्रालयले व्यवसायिक रुपमा उक्त आदेशको कार्यान्वयन गरिने भन्दै त्यसबारे यात्रु र पर्यटन उद्योग दुवैलाई जानकारी दिइने उल्लेख गरेको छ।

वासिङटनबाट बीबीसीका एन्थोनी जर्चर भन्छन् सर्वोच्च अदालतको आदेशलाई राष्ट्रपति ट्रम्पको विजयका रुपमा हेरिएको छ।

यो आदेशबाट प्रभावित हुने ६ वटा देशका आप्रवासी र शरणार्थीहरुलाई, जो अमेरिकी परिवार, विद्यालय वा रोजगारीसँग सम्बन्धित छैनन्, अब अमेरिका प्रवेश गर्न झन कठिन हुनेछ।

इरान, लिबिया,सोमालिया, सुडान, सिरिया र यमनबाट आतंकवादको जोखिम रहेको भन्दै ती देशका नागरिकलाई अमेरिका यात्रा गर्न अस्थायी प्रतिबन्ध लगाउनुपर्ने राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेका थिए।

अधिकार

तस्वीर कपीराइट Getty Images

अदालतको निर्णयले परम्परागत रुपमा राष्ट्रिय सुरक्षाको मामिलामा राष्ट्रपतिमा निहित व्यापक अधिकारलाई पुष्टि गरिदिएको छ।

हतारमा कार्यान्वयन गरिएको आप्रवासन सम्बन्धी आदेशका कारण राष्ट्रपतिको विशेषाधिकारमा दीर्घकालीन क्षत पुग्नसक्ने कयौँको आशंका थियो। तर सर्वोच्च अदालतको आदेशपछि त्यस्तो नभइसकेको जस्तो देखिन्छ।

न्यायाधीशहरुले जसरी सुकै राष्ट्रलाई सुरक्षा दिनु सरकारको दायित्व भएको उल्लेख गरेका छन्। त्यसको अर्थ सम्भावित विदेशी सुरक्षा जोखिमको विश्लेषण गरी देशका सीमा क्षेत्र समेत बन्द गराउन मिल्नेछ।

आगामी शरद ऋतुमा दुवै पक्षका तर्क सुनेर अदालतले यस विषयमा अन्तिम निर्णय दिनेछ।

ट्रम्प प्रशासनसँग अब आप्रवासन नीतिको पुनरावलोकन गरी नयाँ निर्देशिकाहरु ल्याउन तीन महिनाको समय रहेको छ।

यो बिचमा अब अमेरिका प्रवेश गर्ने द्वारहरु भने साँघुरा भएका छन्।