'संवेदनशील केन्द्रमा विशेष सैनिक टोली'

  • 27 जुन 2017
नेपाली सेना
Image caption चुनावको बेला हुनसक्ने सुरक्षा खतरालाई ध्यानमा राखेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरा बनाइएको अधिकारीहरुको भनाइ छ।

सरकारले स्थानीय तहको बुधवार हुने दोश्रो चरणको मतदानका क्रममा सुरक्षाका दृष्टिले संवेदनशील मानिएका मतदान केन्द्रमा नेपाली सेनाको विशेष टोली तैनाथ गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

केही दिनयता कतिपय ठाउँमा बम राखिएका घटनाबीच गृह मन्त्रालयले संवेदनशील मतदान केन्द्रमा सेनाको बम निष्कृय पार्ने टोली खटाउने जनाएको हो।

तीनवटा प्रदेशका ८ हजारभन्दा बढी मतदान केन्द्रमा हुने चुनावका सिलसिलामा डेढ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्।

गृह मन्त्रालयले चुनाव बहिष्कार गरेका राजनीतिक दल र गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहलाई चुनावी सुरक्षाको चुनौतीको रुपमा लिएको छ।

अधिकारीहरुका अनुसार उनीहरुबाट हुनसक्ने सम्भावित सुरक्षा खतरालाई ध्यानमा राखेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरा बनाइएको छ।

निगरानी

बम आक्रमण र केही स्थानमा उम्मेदवारमाथी भएका आक्रमणको घटनाप्रति सजग रहेको र सम्भावित अन्य गतिविधिमाथि निगरानी बढाइएको गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्ले बताएका छन्।

उनले भने, "स्थानीय प्रशासनले प्रत्येक जिल्लामा निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई प्रचलित कानुन अनुसार नियन्त्रणमा लिएर कारबाही गर्ने कुरा हुन्छ। भर्खरै नवलपरासीमा भएको विस्फोटमा संलग्न भएकाहरुलाई अनुसन्धानको दायरामा ल्याइएको छ।"

निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ मा पर्ने छिमेकी राष्ट्रसँगको सिमाना मतदानको दुई दिन अघिदेखि बन्द गरिएका छन्।

अधिकारीहरुका अनुसार सुरक्षाका दृष्टिले संवेदनशील ठम्याइएका मतदान केन्द्रमा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ।

त्यस्ता स्थानमा नेपाली सेनाको बम निष्कृय पार्ने टोली खटाउनुका आपतकालीन प्रयोगका लागि हेलिकोप्टर तयार अवस्थामा राखिएको बताइएको छ।

नष्ट

सुदूर पश्चिमाञ्चलका क्षेत्रिय प्रशासक शिशिर ढुंगाना भन्छन्, "प्रत्येक तहमा नेपाली सेनाको बम निष्कृय बनाउने सक्ने क्षमताका जनशक्ति तैनाथ गरिएको छ। कुनै त्यस्ता खाले घटना भए वा शंकास्पद वस्तुहरु फेला परे भने त्यो टोलीले त्यसलाई नष्ट गर्नेछ।"

निर्वाचन बहिष्कार घोषणा गरेका राष्ट्रिय जनता पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट चुनाव विरोधी गतिविधि हुनसक्ने भन्दै विशेष निगरानी गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकारको सुरक्षा प्रबन्ध कमजोर देखिएको भन्दै तीव्र आलोचना गरेको छ।