गुगललाई इयुद्वारा सबैभन्दा धेरै जरिवाना

  • 27 जुन 2017

लिओ केलिओन,

प्रविधि डेस्क सम्पादक

गुगल तस्वीर कपीराइट Google

विशाल प्रविधि कम्पनी गुगललाई सर्च रिजल्टहरुमा आफ्नै किनमेल सेवाको प्रवर्धन गरेर शक्तिको दुरुपयोग गरेको भन्दै युरोपेली आयोगले दुईदशमलव सात अर्ब डलर जरिवाना गरेको छ।

बजारलाई प्रभावित पार्न खोजेको आरोप लागेको कुनै पनि कम्पनी विरुद्ध उक्त नियामक निकायले लागु गरेको यो नै सबैभन्दा ठूलो रकमको जरिवाना हो।

उक्त जरिवाना आदेशले गुगुललाई उस्को प्रतिस्पर्धा-विरोधी क्रियाकलाप आगमी ९० दिन भित्र बन्द गर्न अन्यथा थप दण्डका लागि तयार रहन समेत चेतावनी दिएको छ।

उक्त अमेरिकी कम्पनीले आफू विरुद्धको त्यस्तो कदमप्रति पुनरावेदन गर्ने संकेत दिएको छ।

जरिवाना

तस्वीर कपीराइट European Commission

तर किनमेल परामर्श सेवा संचालन गर्ने तरीकामा गुगलले तीन महिने समयसीमा भित्र परिवर्तन नगरेमा सो कम्पनीलाई उस्को माउ कम्पनी अल्फाबेटले दैनिक विश्वव्यापी रुपमा गर्ने औसत आम्दानीको ५%ले हुन आउने रकम जरिवाना हुन सक्नेछ।

उक्त कम्पनीले सार्वजनिक गरेको पछिल्लो वित्तिय प्रतिवेदनका आधारमा त्यो भनेको दैनिक करिब एक करोड चालिस लाख डलर हुन आउंछ।

उक्त कम्पनीका प्रवक्ताले युरोपेली आयोगको फैसलाप्रति प्रतिक्रिया जनाउंदै भने, "हामी आज घोषित निर्णयहरुप्रति सम्मानपूर्वक असहमति जनाउदछौं।

"हामीले पुनरावेदन गर्ने हुनाले आयोगको निर्णयलाई विस्तृत रुपमा समिक्षा गर्नेछौं र हाम्रो तर्फको भनाइ राख्‍न जारी नै राख्‍नेछौं।"