युक्रेन र अन्य राष्ट्रमा साइबर हमला

  • 27 जुन 2017
साइबर हमला तस्वीर कपीराइट Screenshot

युक्रेनबाट आरम्भ भएको एउटा ठूलो स्तरको साइबर अट्याक अर्थात इन्टरनेट मार्फत कम्प्युटर प्रणालीहरुमा भएको हमलाको प्रभाव नर्वे र भारतसम्मका देशहरुमा फैलिएको देखिएको छ।

केही प्रभावित कम्पनीहरुले ह्याकरहरुले भुक्तानी माग गरेको सन्देशका स्क्रीनशटहरु सामाजिक संजालहरुमा राखेका छन्।

कम्प्युटर प्रणालीमा हमला गरी त्यसलाई आफ्नो नियन्त्रणमा लिने र नियन्त्रणमुक्त गरिदिन पैसा माग गर्ने ह्याकरहरुले, स्रोत पत्ता लगाउन नसकिने बीटक्वाइन भनिने भर्चुअल अर्थात अभौतिक मुद्रामा भुक्तानी मागेका बताइएको छ।

प्रभावित

साइबर हमलाका कारण युक्रेनमा सरकारी मन्त्रालय, उर्जा कम्पनी र ब्यांकहरुले तिनीहरुको कम्प्युटर प्रणालीमा ठूलै समस्या बेहोरिरहेका छन्।

युक्रेनको केन्द्रीय ब्यांक, सरकारी उर्जा वितरक युक्रेनेर्गो र विमान उत्पादक एन्टोनोभका साथै अन्य दुई हुलाक सेवा पनि प्रभावित भएका छन्।

तस्वीर कपीराइट Screenshot

किएभको बोरिस्पील विमानस्थलले उडानहरुमा ढिलाई हुन सक्ने चेतावनी दिएको छ र त्यहांको अनलाइन उडान समयतालिका बन्द हुन पुगेको छ।

किएभको मेट्रो प्रणालीमा कार्डबाट रकम भुक्तानी हुन छाडेको छ।

डेनमार्कको मालवाहक जहाज कम्पनी मएर्स्कले आफ्नो कन्टेनर टर्मीनलहरु साइबर हमलाको निशानामा परेको जनाएको छ।

हमला

त्यसै गरी रुसी विशाल तेल कम्पनी रोस्नेफ्ट र संसारको सबैभन्दा ठूलो विज्ञापन एजेन्सी, डब्ल्यूपीपीले पनि आफ्नो कम्प्युटर प्रणालीमा हमला भएको बताएका छन्।

औषधि उत्पादक कम्पनी मर्क यसपटक साइबर हमलाको निशाना बनाइएको पहिलो अमेरिकी कम्पनी बन्न पुगेको छ।

अमेरिकी गृहसुरक्षा मन्त्रालयले सो हमलाको अनुगमन गरिरहेको जनाएको छ।