‘भोज सबैको, तर मतदान छानेर’

  • 27 जुन 2017
मतदाता

दलहरुले मौनअवधिमा प्रचारप्रसार नगरेको देखिए पनि उनीहरुले मतदाताका लागि खानपिन र भोजभतेर जस्ता गतिविधि तीव्र बनाएको देखिन्छ।

मतदातालाई प्रभावित पार्न त्यस्ता गतिविधि लक्षित रहेको भन्दै कतिपयले त्यसको आलोचना गरेका छन्।

तर निर्वाचन आयोगले त्यसबारे औपचारिक रुपमा मुख खोलेको देखिदैंन।

प्रदेश नम्बर ७ का कतिपय स्थानमा पनि दलहरुले भोजभतेर गरिरहेको भेटिएको बीबीसी संवाददाता उमीद बागचन्दले बताए।

'आचारसंहिता विपरीत'

कतिपय गाँउबस्तीमा मात्र होइन, शहर बजारका होटलहरूमा त्यस्ता गतिविधिले निरन्तरता पाइरहेको बताइएको छ।

कैलालीको पहलमानपुर छेवैको एक गाउँका स्थानीयबासिन्दा जगदीश चौधरीले मतदातालार्इ आफ्नो पक्षमा पार्न उम्मेदवारले दर्जनौं खसी, बोका र बंगुर ढालेर गाउँगाउँ, टोलटोलमा भोज गरिरहेको तर मत चाहिँ आफ्नो मनले चाहेको उम्मेदवारलार्इ दिने बताए।

उनले भने, "खसीबोका, सुँगुर काटेर भोजभतेर गरिरहेका छन्, त्यो चाहिँ खाइरहेका छौं। दलहरुले दिएपछि खानैपर्यो,नाइँ भन्न सकिन्न"।

"तर मत चाहिँ जसले काम गर्नसक्छ, जसले गाउँको विकास गर्नसक्छ, उसैलाई दिने हो"।

गुपचुप

शहर बजारमा मतदातालार्इ प्रभावित पार्न होटलहरूमा हुने खानपिनको आयोजना हुने गरेको देखिन्छ।

तर ती विषय कमैमात्रै बाहिर आउँछन्।

होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य परमानन्द भण्डारी भन्छन्, "कतिपय होटलहरूमा विभिन्न दलका भोजभतेर भइरहेका छन्। त्यसबाट केही आर्थिक रूपमा हामीलार्इ फाइदा पुगेपनि समग्रमा भन्नुपर्दा ती गतिविधि यो मौनअवधिको समयमा हुनु हुन्थेन भन्ने मलार्इ लाग्छ"।

निर्वाचन आचारसंहिताले गर्न नहुने भनेका धेरै कुरा भए पनि त्यसको सही अनुगमन हुनुपर्ने कुरा पनि पटकपटक उठ्दै आएको छ ।