मध्यान्हअघि एक तिहाइद्वारा मतदान

  • 28 जुन 2017
स्थानीय तह

स्थानीय तहको दोस्रो चरणको चुनाव अन्तर्गत तीन वटा प्रदेशहरुमा मध्यान्हअघि नै एक तिहाइ मतदाताहरुले भोट खसालिसकेको निर्वाचन आयोगले जानकारी दिएको छ।

कतिपय स्थानमा वर्षाका कारण मतदान प्रभावित भइरहेको विवरण आइरहँदा निर्वाचन आयोगले विहान ११:३० बजेसम्म करिब ३३ प्रतिशत मतदान भइसकेको जानकारी दिएको हो।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बीबीसीसँग भने, "निर्वाध रुपमा सबै मतदान केन्द्रहरुमा मतदान भइरहेको जानकारी प्राप्त भएको छ। साढे ११ बजेसम्ममा झण्डै ३३ प्रतिशत मतदान भइसकेको प्रारम्भिक जानकारी हामीले पाएका छौं।"

उनका अनुसार सो समयसम्म सोलुखुम्बुमा ६० प्रतिशत, भोजपुरमा ५० प्रतिशत र खोटाङमा ५० प्रतिशत मतदान भइसकेको छ।

मतदाता

३ सय ३४ वटा स्थानीय तहमा १५ हजार भन्दा बढी जनप्रतिनिधि यस चुनावबाट निर्वाचित हुनेछन्।

बिहान ७ बजे शुरु भएको मतदान कार्य अपरान्ह पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

चुनाव हुने तीनवटा प्रदेशमा ६४ लाख भन्दा बढी मतदाता रहेको अधिकारीहरुले बताएका छन्।

चुनावमा प्रतिस्पर्धा गरिरहेका ६२ हजार उम्मेदवार मध्ये २४ हजार भन्दा धेरै महिला उम्मेदवार रहेका छन्।