हिल्सबरा दुर्घटनामा छजना विरुद्ध मुद्दा

  • 28 जुन 2017
हिल्सबरा

ब्रिटेनमा तीन दशक अघि भएको हिल्सबरा फुटबल रंगशाला दुर्घटनाका सम्बन्धमा छजना विरुद्ध मुद्दा चलाइने भएको छ।

ब्रिटेनको सबैभन्दा नराम्रो खेल दुर्घटना भनिएको उक्त घटनामा भीडले किचिएर लिभरपुल फुटबल क्लबका ९६ जना प्रशंसकको ज्यान गएको थियो।

ती मृतकका परिवारजनले लामो न्यायिक छानबिनपछि सरकारी वकिलहरुले चालेका त्यस्तो कदमको स्वागत गरेका छन्।

हिल्सबरा फुटबल दुर्घटनाका सम्बन्धमा मुद्दा चलाउने निर्णय गरिएका छ जना मध्ये चारजना पूर्व प्रहरी अधिकारीहरु छन्।

तस्वीर कपीराइट Hillsborough Inquests

भूतपूर्व चिफ सुपरीन्टेन्डेन्ट डेभिड डकनफिल्डलाई मनसायरहित हत्याको ९५ वटा अभियोग लगाइएको छ।

मुद्दा

अन्य पांचजना वरिष्ठ अधिकारीहरुले पनि सन् १९८९ मा भएको उक्त फुटबल रंगशाला दुर्घटनाका सम्बन्धमा मुद्दाको सामना गर्नुपर्नेछ।

एफए कपको सेमिफाइनल प्रतियोगिताका बेला भीडले किचिएर लिभरपुल फुटबल क्लबका ९६ जना प्रशंसकहरुको मृत्यु हुंदा डेभिड डकनफिल्ड त्यहां तैनाथ प्रहरीहरुको कमाण्डर थिए।

मुद्दा चलाउने घोषणा भएसंगै ब्रिटिश प्रधानमन्त्री टरिजा मेले 'आजको दिन पीडितका परिवारहरुका लागि मिश्रित संवेदनाको दिन' भनेकी छन्।

लिभरपुल र नटिंघम फरेष्ट फुटबल क्लबबीच शेफिल्ड शहरमा एफए कप सेमीफाइनल खेल भैरहंदा भिडले किचिएर प्रशंसकहरुको ज्यान गएको परिस्थितिलाई नयां न्यायिक छानबिनले गत वर्ष गैरकानुनी ठहर गरेको थियो।

तस्वीर कपीराइट Hillsborough Inquests

कानुनी अडचन

कानुनी अडचनका कारण डेभिड डकनफिल्डलाई ९६ औं मृतकको ज्यान गएको सिलसिलामा मुद्दा चलाउन नमिलेको बताइएको छ।

टोनी ब्ल्याण्डको उक्त दुर्घटनाको चार वर्ष पछि निधन भएको थियो।

डकनफिल्ड बाहेकका आरोपीहरुलाई आगामी अगष्ट नौ तारिखका दिन वारिंगटन मजिस्ट्रेट्स् कोर्टमा उपस्थित गराइने छ।

कुनै पनि संगठनलाई अभियोग नलगाइने भएको छ भने एम्बुलेन्स सेवाका कसैले पनि मुद्दाको सामना गर्नु पर्ने छैन।