'चुनाव शान्तिपूर्ण: ७० प्रतिशत मतदान'

  • 28 जुन 2017
मतदाता

निर्वाचन आयोगले तीनवटा प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरेको छ।

चुनाव शान्तिपूर्ण र मतदाताको सहभागिता उत्साहपूर्ण भएको उसको भनाई छ।

दोश्रो चरणको चुनाव अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ वटा जिल्लामा मतदान भएको हो।

एउटा महानगरपालिका सहित ३३४ स्थानीय तहमा करिब ६५ लाख मतदाता थिए।

सिङ्गै गाउँद्वारा चुनाव बहिष्कार

अनुमान

मतदानको समय सकिएपछि काठमाण्डूमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, "प्रारम्भिक विवरण अनुसार कम्तिमा ७०.५ प्रतिशत मतदान भएको छ। यो आँकडा अझ बढ्नसक्ने आयोगले अनुमान गरेको छ।"

उनका अनुसार सबैभन्दा बढी बाजुरामा ८० र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ।

मतदान सकिएसँगै १५ हजार पदको निम्ति चुनावमा भिडेका ६२ हजार उम्मेदवारको भाग्य मतपेटिकामा बन्द हुन पुगेको छ।

मतपेटिका संकलन भइरहेको र जतिसक्दो चाँडै मतगणना शुरु गरिने आयोगको भनाइ छ।

चुनावी आश्वासन: 'सत्ताको दुरुपयोग'

मतपरिणाम छिटो

प्रमुख निर्वाचन आयुक्त यादवले भने, "जहाँ-जहाँ मतपेटिका संकलन भैसकेको हुन्छ, त्यहाँ राजनीतिक दल, उम्मेदवारसँग छलफल गरेर आजै वा भोलिबाट मतगणना शुरु गरिन्छ।"

उनले अघिल्लोभन्दा छिटो मतपरिणाम आउने पनि बताए।

केही दलले बहिष्कार गर्दै चुनाव हुन नदिने घोषणा गरेकाले पहिलोभन्दा दोश्रो चरणको निर्वाचनलाई चासोपूर्वक हेरिएको थियो।

दुई दशकपछि स्थानीय सरकार गठन हुन लागेकाले यो चुनाव थप महत्वपूर्ण बन्न पुगेको हो।

प्रदेश नम्बर ३, ४ र ६ मा डेढ महिनाअघि स्थानीय चुनाव सम्पन्न भइसकेको छ।

आठवटा जिल्ला रहेको प्रदेश नम्बर २ को चुनाव असोजमा तोकिएको छ।

चासोको कारण

तर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बहिष्कार र निर्वाचनमा व्यवधान उत्पन्न हुने गरी बन्द/हडताल घोषणा गरेकाले केही जिल्लाका केही ठाउँको चुनावलाई चासोपूर्वक हेरिएको थियो।

मोरङ, सुनसरी, नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके लगायतका जिल्लाका केही स्थानमा राजपा नेपालको उपस्थिति रहेको ठानिन्छ।

तर ती स्थानमा समेत मतदान शान्तिपूर्ण र मतदाताको सहभागिता उत्साहपूर्ण भएको आयोगले जनाएको छ।

राष्ट्रिय राजनीतिमा देखिएको असमझदारी र असन्तुष्टि सङ्ग्लो नहुँदै शान्तिपूर्ण रुपमा भएका दुईवटा चुनावले जनमत निर्वाचनको पक्षमा रहेको र रुष्ट दलको सांगठनिक दायरा पनि खुम्च्याइदिएको ठानिएको छ।