प्रदेश २ मा बन्दप्रति 'असन्तुष्टि'

  • 28 जुन 2017
Image caption निर्वाचन नभएको प्रदेश २ मा जनजीवन ठप्प रह्यो

दोस्रो चरणको स्थानीय चुनावको विरोधमा भन्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले बन्द आह्वान गरेपनि त्यसको प्रभाव चुनाव भएका प्रदेशमा परेन, तर निर्वाचन नभएको प्रदेश २ मा जनजीवन ठप्प रह्यो।

दोस्रो चरणको चुनाव बहिष्कार गरेको राजपा नेपालले बुधबार तराईका जिल्लाहरुमा बन्द र हड्तालको आह्वान गरेको थियो।

उसको आह्वानबीच अन्य प्रदेशमा मतदान सम्पन्न भएपनि चुनाव नै नभएको प्रदेश नम्बर २ मा बन्दले जनजीवन प्रभावित बन्यो।

असन्तुष्टि

असोज २ गतेको निम्ति चुनाव सारिएको प्रदेशमा बन्द गर्नुको कुनै औचित्य नभएको भन्दै उद्योगी तथा सर्वसाधारणले असन्तुष्टि प्रकट गरेका छन्।

राजपाको बन्दका कारण सवारी साधन चलेनन्।

बजार पूर्ण रुपमा बन्द रह्यो।

विद्यालयमा पठनपाठन ठप्प हुनपुग्यो।

बन्द आह्वानकर्ताप्रति आक्रोश पोख्दै स्थानीय अभिभावकहरुले यस्ता विरोधका कारण बालबालिकाको भविष्यमाथि खेलवाड भएको बताए।

चुनाव नै नभएको प्रदेश नम्बर २ मा बन्द हडताल गरेकोमा यहाँका अन्य राजनीतिक दल, उद्योगी-व्यापारी र युवा अगुवा पनि रुष्ट देखिए।

वीरगञ्जका राजु साह कानुले भने, "आन्दोलन धेरै भए तर केही उपलब्धि भएन। राज्यले पनि असन्तुष्टि व्यवस्थापन गर्न सकेन।"

"अझै पनि चेपुवामा सर्वसाधारण परेका छन्। कहिलेसम्म जनताले आन्दोलनका नाममा सास्ती खेप्ने?"

चुनाव हुने प्रदेशमा बन्दको प्रभाव नपरेपनि चुनाव नभएको प्रदेशका जनताले बन्दको मार खेप्नु परेको छ।

बन्द आह्वान

आफ्नो दललाई दुई नम्बर प्रदेशको साथ र समर्थन रहेको सन्देश दिन पनि बन्द आह्वान गरिएको राजपाका वीरगञ्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफको भनाइ छ।

उनले भने, "मधेशको असन्तुष्टि सम्बोधन नगरी भएको चुनाव बहिष्कार गर्नुको विकल्प छैन। यसमा हामीलाई मधेशका जनताको साथ छ।"

सरकारले प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचनको मिति तोकेको छ।

संविधान संशोधन लगायतका माग राख्दै आन्दोलनमा उत्रिएको राजपाले बुधबार र यसअघि भएका दुई चरणका चुनाव बहिष्कार गरेको थियो।

तर तराईमा पकड रहेका भनिएका अन्य दुई दल संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम चुनावमा सहभागी छन्।

त्यसले गर्दा पनि चुनाव विरोधी आन्दोलन अन्य प्रदेशमा निष्प्रभावी भएको ठानिएको छ।