भारतमा ‘लिंचिंग’ विरुद्ध प्रदर्शन

  • 29 जुन 2017
प्रदर्शन

भारतका कैयौं शहरमा पछिल्ला समयमा भिडले मानिस मार्ने घटना बढ्न थालेपछि त्यसको विरोधमा प्रदर्शन भएका छन्।

बुधबार राजधानी दिल्ली सहित कतिपय स्थानमा लिंचिंग अर्थात भिडले मानिस मार्ने घटनाको विरोधमा शान्तिपूर्ण प्रदर्शन भए।

जन्तरमन्तर

दिल्लीको जन्तर मन्तरमा बुधबार कालो पट्टी बाँधेका करिब १५ सय मानिस भेला भएर सरकारलाई भिडले मानिस मार्ने घटनाबारे कारवाही गर्न माग गरे।

केही दिन अगाडी हरियानाका एक मुसलमान युवा जुनैद खानको रेलमा भएको हत्यापश्चात सामाजिक सञ्जालमा त्यसको विरुद्ध चर्चा भयो।

नट इन माइ नेम ह्यासट्याग भएको नारा दिनभर ट्विटरमा चर्चित रह्यो।

खासगरि मुसलमानहरु विरुद्ध लक्षित त्यस्ता हत्याका घटनाका विरुद्ध उभिएको नागरिक समाजको तप्कालाई एकीकृत गर्न सो नारा लगाइएको हो।

साँझको समयमा दिल्लीमा मात्र होइन मुम्बइ, कोलकाता सहित एक दर्जन बढी शहरहरुमा त्यसरी मानिसहरु जम्मा भएर विरोध जनाए।

हरेक ठाउँमा महिला विरोध प्रदर्शनकारीहरु उल्लेख्य संख्यामा उपस्थित रहे।

क्रुद्ध

जन्तरमन्तरमा आएकी एक महिलाले सवा अर्ब जनसंख्या भएको भारतमा अब अरब क्रान्ति भन्दा विशाल प्रदर्शन हुने चेतावनी दिइन्।

बुधबारका यी विरोध सभाका विशेषता के रहे भने सामाजिक सञ्जालबाट आह्वान गरिएका ती भेलामा राजनीतिक दल वा तिनका संस्थासंग सम्बद्ध मानिस सहभागी हुन चाहे पनि विना कुनै ब्यानर एक आम मानिसको रुपमा मात्र आउन भनिएको थियो।

त्यसरी जम्मा भएका प्रदर्शनकारीहरुमध्ये पत्रकार, प्राध्यापक, चिकित्सक, व्यापारी तथा अवकाशप्राप्त सैन्य अधिकारी पनि थिए।

केही समय यता गाई रक्षाको नाममा तथा अन्य घटनामा मारिएकाहरु प्रति कारबाही नभएकोमा उनीहरु क्रुद्ध देखिन्थे।