प्रधान न्यायाधीशमा पराजुली सिफारिस

  • 29 जुन 2017
गोपाल पराजुली
Image caption बरिष्ठतम न्यायाधीश गोपाल पराजुली प्रधान न्यायाधीशमा सिफारिस भएका छन्

संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा वरिष्ठतम न्यायाधीश गोपालप्रसाद पराजुलीको नाम सिफारिस गरेको छ।

न्याय परिषदको गत जेठ ३० गते भएको बैठकले प्रधान न्यायाधीश हुन न्युनतम योग्यता पुगेका छ जना न्यायाधीशको नाम संवैधानिक परिषदको सचिवालयमा पठाउने निर्णय गरेको थियो।

संवैधानिक परिषदको दोश्रोपल्ट बसेको बैठकले सहमतिमा उनको नाम सिफारिस गरेको एकजना अधिकारीले बताएका छन्।

प्रधानमन्त्रीको अध्यक्षमा भएको परिषद बैठकमा सदस्यहरु सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, उपसभामुख तथा प्रधान न्यायाधीश नरहेकाले कानुनमन्त्री सहभागी थिए।

विवाद

उनले सुशीला कार्कीको अवकाश यता कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारी निर्वाह गरिरहेका छन्।

संसदीय सुनुवाईबाट उनको नाम अनुमोदनपछि प्रधान न्यायाधीश बन्ने बाटो खुला हुनेछ।

अहिलेसम्म भएका संसदीय सुनुवाई औपचारिकता मात्र हुने गरेका छन्।

नियुक्त भएमा उनी २०७५ सालको वैशाख मध्यसम्म प्रधान न्यायाधीश रहनेछन्।

उनको जन्म मिति विवादमा परेको थियो।

तर कार्कीको अवकाशपछि अदालतले दिएको एउटा आदेशलाई आधार बनाउँदै न्याय परिषदले पराजुलीको नाम २०१० साल वैशाख १६ गते कायम गरेको थियो।