रुसी विपक्षी नेताको हत्यामा पांचजना दोषी

  • 29 जुन 2017
बोरिस नेम्तसोभ तस्वीर कपीराइट AFP
Image caption बोरिस नेम्तसोभ रुसी राष्ट्रपति पुटिनका एक खरो आलोचक थिए

मस्कोस्थित एउटा अदालतको जुरीले दुई वर्षअघि देशका एकजना प्रमुख विपक्षी अभियानकर्ता बोरिस नेम्तसोभको हत्या गरेको अभियोगमा पांचजना चेचेन पुरुषहरुलाई दोषी ठहर गरेको छ।

एकजना भूतपूर्व प्यारामिलिटरी प्रहरी जाउर डाडायेभ गोली प्रहार गरेको अभियोगमा दोषी ठहरिएका छन्।

अन्य चार जनालाई भने नेम्तसोभको ज्यान लिने षडयन्त्रमा तिनीहरुको भूमिकाका लागि दोषी ठहर्याइएको छ।

दुई वर्षअघि फेब्रुअरी महिनामा रातिको समय पैदल घर फर्किरहेका बेला क्रेमलिन नजिकै रुसी विपक्षका सबैभन्दा प्रमुख अभियानकर्ता बोरिस नेम्तसोभको हत्या भएको थियो।

सजाय

१२ घण्टाको छलफलपछि जुरी स्पष्ट निर्णयमा पुगेको थियो।

अदालतमा रहेकी बीबीसी मस्को सम्बाददाता शेरा रेन्सफोर्ड भन्छिन्, "जुरीले निर्णय सुनाउंदै गर्दा एउटा सिसाको खोरमा राखिएका अभियुक्तहरुले बेलाबेला मुस्काउंदै ध्यानपूर्वक त्यसलाई सुनेका थिए।"

ती मध्ये एकजनाकी श्रीमति भने रोएकी थिइन्।

अदालतमा ती पांच जनालाई नेम्तसोभको हत्याका लागि झण्डै अढाई लाख डलर पैसा दिइएको बताइएको थियो।

तिनीहरुलाई अर्को मितिमा सजाय सुनाइनेछ।

तस्वीर कपीराइट Reuters

अदालती प्रकृयाका क्रममा उक्त हत्याको पछाडिको उद्देश्य के थियो भन्ने खुल्न सकेन।

चुप

तर नेम्तसोभका परिवारजन उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका कारण चुप लगाउन मारिएको हुनसक्नेमा विश्वस्त छन्।

उनको हत्याको आदेश दिनेहरु कहिल्यै फेला नपर्ने तिनीहरुको आशंका छ।

यो मुद्दा भाडाको हत्याराहरुमा मात्रै केन्द्रित रह्यो र तिनीहरुलाई कस्ले कुन उद्देश्यका साथ काम लगाएको थियो भन्ने प्रश्न गरिएको थिएन।

राष्ट्रपति पुटिनका एकजना प्रमुख आलोचकलाई क्रेमलिनको पर्खालकै आडमा गोली हानी मारिएको घटनाले सिंगो रुसलाई स्तब्ध तुल्याएको थियो।

कुनै बेला रुसी राजनीतिको केन्द्रमा रहेका नेम्तसोभ भ्लादिमिर पुटिनको कार्यकालका बेला पाखा लगाइएका थिए।

तर उनी विरोधको चर्को स्वरका रुपमा कायमै थिए।