नुरी मस्जिद परिसर सरकारी फौजको कब्जामा

  • 30 जुन 2017
मोसुल तस्वीर कपीराइट Reuters

इराकको सरकारले मोसुल शहरमा रहेको अल-नुरी मस्जिद क्षेत्र इस्लामिक स्टेटका लडाकूबाट पुन: नियन्त्रणमा लिएको भन्दै त्यसलाई जिहादी विरुद्धको लडाइँको एउटा कोसेढुङ्गा भनेको छ।

इराकी प्रधानमन्त्री हैदर अल अबादीले उनका फौजले आइएस लडाकूहरु विरुद्धको कारबाहीलाई निरन्तरता दिने बताए।

उक्त मस्जिद र त्यहाँ नजिकै अवस्थित केहि ढल्किएको एउटा प्राचिन मिनारलाई अघिल्लो हप्ता जिहादीहरुले विस्फोटन गराइ ध्वस्त बनाएका थिए।

सुरक्षा फौजसँगै उक्त मस्जिद परिसरमा पुगेका एक जना बीबीसी संवाददाता भन्छन्, अहिले पनि सो हाताभित्र निसानेवाज र मोर्टारमार्फत गोलाबारी भइरहेका छन्।

लडाइँ

तस्वीर कपीराइट Reuters

जिहादी समूहहरुको चर्को आलोचना गर्दै इराकी प्रधानमन्त्री अबादीले मस्जिदमा पुन: नियन्त्रण कायम गर्नुलाई 'नक्कली डायश राज्यको पराजय' भनेका छन्।

उनले भने, "हामी पछाडि हट्नेछैनौँ र हाम्रा वीर सैनिकले हामीलाई विजयी बनाउनेछन्। हामी एक जना पनि डायश जीवित रहुनजेल वा उनीहरुलाई न्यायको कठघरामा नल्याउनजेल यो लडाइँ जारी राख्नेछौँ।"

छिमेकी सिरियामा अमेरिकी समर्थनप्राप्त सुरक्षा बलले इस्लामिक स्टेटले आफ्नो राजधानी घोषणा गरेको रक्का शहरलाई घेराबन्दी गरेको विवरणहरु आएका छन्।

ब्रिटेन मुख्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले कुर्दिश र अरब फौजको गठबन्धनले दक्षिण क्षेत्रमा बाहिर निस्कने विद्रोहीहरुको मार्ग बन्द गरिदिएको जनाएका छन्।

सिरिया

संयुक्त राष्ट्रसंघले सिरियामा यो महिनामा मात्रै कम्तीमा १७३ जनाले ज्यान गुमाएको उल्लेख गर्दै तीव्र गतिमा सैन्य सफलता हासिल गर्न सर्वसाधारणलाई जोखिममा पुर्याउन नहुने चेतावनी दिएको छ।

तस्वीर कपीराइट AFP

अहिले पनि लडाइँ भइरहेका क्षेत्रमा करिब १ लाख मानिसहरु फसिरहेको ठानिएको छ र विद्रोहीहरुले उनीहरुलाई सुरक्षित स्थानतर्फ भाग्नबाट रोकिरहेको जनाइएको छ।

रक्का भित्र करिव ४ हजार लडाकूहरु सुरक्षित स्थानमा लुकिरहेको हुनसक्ने ठानिएको छ।

राष्ट्रपति बसर अल असदको विरोधबाट शुरु भएको सिरियाली द्वन्द्व गृहयुद्धमा रुपान्तरण भएयता त्यहाँ ३ लाख भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।

सो लडाँइबाट एक करोड १० लाख मानिस विस्थापित भएका छन्।