मतगणना छिटो गर्न जनशक्ति थप: आयोग

  • 30 जुन 2017
मतगणना
Image caption अधिकांस स्थानमा मतगणनाको काम अघि बढिरहेका विवरण प्राप्त भएका छन्।

पहिलो दिनको मतगणनाको गति हेर्दा निर्वाचन आयोगले घोषणा गरे अनुरुप एक साताभित्रै दोस्रो चरणको स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक हुने भरपर्दो संकेत मिलेको छैन।

तर मतगणनालाई द्रुत गति दिन आवश्यक परेका स्थानमा जनशक्ति थप्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताएका छन्।

विराटनगर महानगरपालिकाको मतगणना स्थलमा केही विवाद देखिएपछि त्याहाँ कडा सुरक्षा व्यवस्था मिलाउन निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगले जनाएको छ।

तर त्याहाँको विवाद साम्य भएर शुक्रबार बिहान मतगणनाको काम अघि बढिरहेको हाम्रा संवाददाताले जनाएका छन्।

जनशक्ति

आयोगका प्रवक्ता शर्माका अनुसार सात दिनभित्रै मतपरिणाम सार्वजनिक गर्ने उद्देश्यका साथ काम भइरहेकोले चाहिएको खण्डमा जनशक्ति थप्न प्रदेश नम्बर १, ५ र ७ मा खटिएका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइसकिएको छ।

उनले भने, "मतगणनाको परिणाम चाँडै प्राप्त गर्नका लागि हामीले निर्वाचन अधिकृतहरुलाई मतगणना स्थलमा भएको ठाउँ अनुसार मतगणना टोली थपेर काम गर्न भनेका छौं।"

मतगणनाको पहिलो दिन व्यवस्थापन मिलाउने लगायत अन्य प्राविधिक कामले पनि गणनालाई प्रभावित पारेको आयोगको भनाइ छ।

विराटनगर महानगरपालिमा मतपत्रको मुचुल्का र मतगणना प्रतिनिधि कति जना राख्ने भन्ने विषयमा सहमति हुन नसक्दा शुरुमा केही विवाद भएको थियो।

सुस्त

प्रवक्ता शर्माले भने, "अलि धेरै टोली गठन गरेर सुरक्षाको राम्रो प्रबन्ध गरेर अलि सतर्कता र होसियारीका साथ काम गर्न भनेका छौं र उहाँहरुले त्यही अनुसार तयारी गरेर मतगणना शुरु गर्नु भएको हो।"

उपमहानगर र महानगरपालिकाको मतगणना गाउँपालिकाको तुलनामा सुस्त भएको पनि आयोगको ठहर छ।

मतगणना छिटो र सजिलोसंग गर्न विद्युतीय मतदान प्रणाली भित्र्याउनु पर्नेमा आयोगका पदाधिकारीले जोड दिंदै आएका छन्।

तर नयाँ प्रविधि प्रयोग गर्न नसक्दासम्म पुरानै शैलीमा मतगणना गर्दा, बेला-बेला विवाद उठ्ने र समाधान गर्न भरतपुर महानगरपालिकामा देखिए जस्तै धेरै समय लाग्ने चिन्ता बढेको छ।